१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

टिपिएस खारेज हुँदैमा आत्तिहाल्नु पर्दैन, यसरी बस्न सकिन्छ अमेरिका


२१ बैशाख २०७५, शुक्रबार  

0
Shares

कागजपत्र नभएका नेपालीलाई प्रदान गरिएको टेम्पोररी प्रोटेक्ड स्टाटस– टिपिएस सुविधा नथप्ने अमेरिकी सरकारको घोषणासँगै यतिखेर टिपिएस प्राप्त नेपालीहरू चिन्तित भएका छन् । टिपिएस पाएका नेपालीहरूले अब के गर्ने ? न्युयोर्कको पहिलो नेपाली मूलकी महिला कानुन व्यवसायी रहेकी चन्दा थापासँग हामीले यसबारेमा प्रश्न गरेका छौ । विगत एक दशकदेखि न्युयोर्कमै कानुन व्यवसायीको रूपमा सक्रिय रहेकी उनी ‘ल अफिस अफ चन्दा थापा’की सञ्चालिका हुन् । उनै थापासँग टिपिएस सुविधाको अन्त्य र नेपालीलाई पर्ने असरसम्बन्धी गरेको कुराकानीः

नेपाललाई टिपिएस नविकरण नगर्ने भएको छ, ९ हजार नेपालीलाई कस्तो असर पर्ला ?
कानुनी रूपमा काम गर्न पाइरहेको सुविधा जाने भएकोले असर त पर्ने नै भयो । टिपिएसको मिति सकिएको खण्डमा उहाँहरू गैरकानुनी ठहारिने छ । अब के गर्ने भन्ने चिन्ता बढ्नु स्वाभाविकै हो । अब यसबारेमा उहाँहरूले तुरुन्तै के गर्न सकिन्छ भन्ने बारेमा अर्को विकल्प खोज्नु जरुरी छ ।

त्यस्ता विकल्प के हुन सक्छन् ?
टिपिएस नवीकरण नहुने घोषणा गरे पनि एक वर्षसम्मको म्याद छ । अब थपेको म्याद पाउन पहिला जस्तै फाराम भरेर टिपिएसको वर्क परमिटको म्याद पनि बढाउन सकिन्छ । त्यसपछि कानुनी रूपमा बस्ने वैकल्पिक आधारहरू खोज्नु पर्छ ।

सरकारले जुन २४, २०१९ भित्र अमेरिका छाड्न भनेको छ, त्यसपछि पनि यहाँ बस्ने विकल्प छ त ?
विद्यार्थी छँदा छँदै टिपिएसमा गएको हो भने आफ्नो स्टाटस परिवर्तन गर्न सकिन्छ । त्यस्तै पहिला भिसा हुँदाहँुदै टिपिएस लिनेहरुले पनि आफ्नो स्टाटस परिवर्तन गर्न सकिन्छ । तर यतिखेर कोही मालिकले कामदारको रूपमा लेबर सर्टिफिकेट दिन अहिले तुरुन्तै प्रक्रिया थालेमा पनि ग्रिन कार्ड पाउन सकिन्छ ।

कस्ता व्यक्तिहरूले यस्ता थप सुविधा पाउन सक्छ ?
विशेषगरी सिक्स सर्किटमा पर्ने राज्यहरू केन्टकी, मिचिगन, ओहायो, टेनेसि त्यस्तै नाइन्थ सर्किटमा अलस्का, एरिजोना, क्यालिफोनिया, हवाई, आइदोह, मोन्टेना, नेभडा, ओरिगन र वासिङटन स्टेटमा बस्नेहरु जो कागज विना बाहिरबाट प्रवेश गरे पनि टिपिएस लिएको भए टिपिएस सकिन अगाडी नै कुनै आधार भए ग्रिनकार्ड बनाउन सकिने संभवना हुन्छ ।

टिपिएस र एसाइलम दुवै हुनेको हकमा के हुन्छ ?
टिपिएससँगै कसैको केस अदालतमा पुगेको छ र बन्द गरेको अवस्थामा पुन खुलाएर अघि बढ्न सकिन्छ । त्यस्तै टिपिएसमै छ र केस पनि चलिरहेको छ भने टिपिएस सके पनि त्यहीबाट जान सकिन्छ । जो असाइलम पनि नगरेको भिसा नभएको केस हारेर बसेकोलाई समास्या पर्न सक्छ उनीहरूले विकल्प खोज्नु पर्छ ।

यो अवधिमा नेपाल जान मिल्छ की मिल्दैन ?
अहिले तत्कालै केही फरक पर्दैन । तर यदि ढिला गरी गएमा फर्कँदा प्रश्न धेरै गर्न सक्छ र जोखिम हुन सक्छ । जोखिम पनि कति छ भन्ने कुरा त्यो व्यक्तिको केसमा निर्भर हुन्छ ।

अन्त्यमा, तपाईँको चिन्तामा रहेका व्यक्तिहरूलाई तपाईँको सुझाव के छ ?
टिपिएस नवीकरण नभएपनि एक वर्षसम्म अत्तिनु पदैन । एक वर्षभित्र के गर्ने भनेर कानुन व्यवसायीहरूसँग सल्लाह गर्र्नु जरुरी छ । टिपिएस आउने बेलामा अमेरिकी सरकारले नेपाली विद्याथीलाई डिएसओको अनुमति लिई पाउने पार्ट टाइम स्टुडेन्ट हुन मिल्ने सुविधा पनि आगामी जुन २४ ,२०१९ मा सकिदैछ । यदि सरकारले यो सुविधा निरन्तरता नदिएमा विद्यार्थीहरूले पुरानै नियम अनुसार फुलटाइम स्टुडेन्टको रूपमा रहनु पर्ने हुन्छ । यो कुरामा विशेष गरी विद्यार्थीहरूले ध्यान पु¥याउनु जरुरी छ ।

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार  १० : ३६ बजे