१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

पशुपतिमा दोस्रोपटक मोदी, गरे विशेष पूजा


२९ बैशाख २०७५, शनिबार  

0
Shares

पूजापछि पशपति मन्दिरबाट बाहिरिँदै मोदी । तस्विर सौजन्य: मोदीको ट्वीटर

काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज पाशुपत क्षेत्र पुगी हिन्दूहरुको आस्थाको केन्द्र आराध्यदेव पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा एवं दर्शन गरे ।

मुक्तिनाथमा पूजा एवं दर्शनपछि प्रधानमन्त्री मोदी पशुपतिनाथ आइपुगेका थिए । पशुपतिनाथ मन्दिर परिसरमा उहाँलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष रवीन्द्र अधिकारीले स्वागत गरेका थिए  । उनको स्वागतमा कोषका सदस्य सचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा, कोष सञ्चालक परिषद्का सदस्य, कोषका कर्मचारीलगायत श्रद्धालु भक्तजनको उपस्थिति थियो ।

मोदीलाई नेपाल वेद विद्याश्रमका १०८ ब्राह्मण बटुकले स्वस्तिवाचन सहित मूल मन्दिरभित्र स्वागत गरेका थिए । उनले पशुपति दर्शन विधिअनुसार पशुपति परिसरका मन्दिरको दर्शन एवं पूजा गरी मूल मन्दिरमा वैदिक रुद्राभिषेकसहित विशेष पूजा गरे । मन्दिरका मूल भट्ट गणेश भट्टले पूजा गराएका थिए ।

मोदीले यसअघि २०७१ साउन १८ गते सोमबार पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गरेका थिए । त्यसबेला पूजापछि मोदीले पशुपति मूल मन्दिरको जीर्णोद्धारका लागि भारतीय रुपैयाँ रु २५ करोड, सरसफाइका लागि रु पाँच करोड सहयोग घोषणा गरेका थिए ।

प्रकाशित मिति : २९ बैशाख २०७५, शनिबार  २ : १५ बजे