१७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026

ओलीको स्वास्थ्यमा समस्या, एमाले गतिविधि सुस्ताउँदै



केपी शर्मा ओली पित्तथैलीमा पत्थरी तथा हर्नियाको शल्यक्रियापछि हाल घरमै आराम गरिरहेका छन् । तर, शल्यक्रियापछि घाउमा संक्रमण बढेपछि उनको बाह्य भेटघाट पूर्ण रूपमा बन्द गरिएको छ ।

पार्टी स्रोतका अनुसार केही दिनयता उनी गुण्डुस्थित निवासमा सीमित छन् र भुइँतलामा समेत नओर्लिएको बताइएको छ । संक्रमण बढेपछि उनकी पत्नी राधिका शाक्यले परिवारबाहेक अन्य कसैलाई भेट्न नदिएको जनाइएको छ ।

ओलीको स्वास्थ्यमा आएको समस्यासँगै नेकपा एमाले का गतिविधि पनि सुस्त बनेका छन् । प्रतिनिधिसभा निर्वाचन सकिएको करिब दुई महिना बित्न लाग्दा पनि पार्टीले चुनावी समीक्षा गर्न सकेको छैन भने नियमित बैठकहरू पनि ठप्पप्रायः छन् ।

पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले अध्यक्ष पूर्ण रूपमा स्वस्थ नभएसम्म सचिवालय बैठक बस्ने सम्भावना कम रहेको बताए । यसअघि वैशाख अन्तिममा केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भए पनि ओलीको स्वास्थ्य प्रतिकूल भएपछि अनिश्चित बनेको छ ।

ओली गत वैशाख ५ गते अस्पतालबाट डिस्चार्ज भएका थिए । चैत ३० गते गरिएको शल्यक्रियापछि उनी २१ दिन अस्पतालमा बसेका थिए ।

यसैबीच, एमालेभित्र विशेष महाधिवेशनको माग पनि चर्किंदै गएको छ । गजेन्द्र थपलिया, कमल जोशी र उपेन्द्र कार्की लगायत नेताहरूले हस्ताक्षर अभियान चलाइरहेका छन् ।

पार्टीभित्रै नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएको देखिन्छ । उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ तथा महासचिव शंकर पोखरेल लगायत नेताहरू ओली नेतृत्वबाट पार्टी अघि बढ्न नसक्ने निष्कर्षमा पुगेको स्रोतको दाबी छ ।

इतर समूहका गोकर्ण विष्ट, योगेश भट्टराई र सुरेन्द्र पाण्डे लगायत नेताहरूले भने पार्टी पुनर्गठनको माग पहिलेदेखि नै उठाउँदै आएका छन् ।

गत मंसिरमा सम्पन्न ११औं महाधिवेशनपछि संगठनमा बलियो बहुमतमा रहेका ओली पछिल्लो निर्वाचनमा एमाले तेस्रो स्थानमा सीमित भएपछि थप दबाबमा परेका छन् ।

पार्टी स्रोतका अनुसार सचिवालय बैठक बसेसँगै ओलीमाथि राजीनामाको दबाब बढ्ने देखिएकाले बैठकसमेत धकेलिने अवस्था रहेको छ । यद्यपि महासचिव पोखरेलले भने पार्टी निर्वाचन समीक्षा प्रक्रियामा रहेको र छिट्टै अध्यक्ष ओलीकै उपस्थितिमा बैठक बसेर पुनर्गठनको खाका अघि बढाइने बताएका छन् ।

ओलीको स्वास्थ्य अवस्था र आन्तरिक विवादका कारण एमालेभित्रको शक्ति सन्तुलनमा परिवर्तन आउने संकेत देखिन थालेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  १० : ५५ बजे