१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

अब एन्फा नीतिमा चल्छ, फुटबलको विकास हुन्छ – कर्माछिरिङ शेर्पा [वार्ता]


६ जेष्ठ २०७५, आइतबार  

0
Shares

हिमालयन शेर्पा क्लबका अध्यक्षसमेत रहेका कर्माछिरिङ शेर्पा अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा निर्वाचित भएसँगै नेपाली फुटबल क्षेत्रमा तरंग फैलिएको छ । इतिहासमै पहिलोपल्ट निर्वाचनबाट नेतृत्वमा आएका शेर्पाले गणेश थापाको कब्जाबाट एन्फालाई मुक्त गरेकोले पनि फुटबल क्षेत्र तरंगित बनेको हो ।

२०५७ सालमा गीता राणाको नेतृत्वमा गठन भएको तदर्थ समितिको उपाध्यक्षबाट फुटबल पदाधिकारीको यात्रा शुरु गरेका शेर्पाले एन्फाको राजनीति राम्रैसँग बुझेका छन् । एन्फाको समानान्तर समितिहरुमासमेत सक्रिया रहेका उनी २०५९ मा कार्यवाहक अध्यक्षसमेत भए । २०६२ मा उनले आफ्नै क्लब दर्ता गरे ।

उतारचढावकाबीच विवादित गणेश थापालाईसमेत समर्थन गरेका उनले उनै थापाको शैली विरोध गर्दै अख्तियारसम्म पुगे । त्यसबाट थापा दोषी प्रमाणित भए । थापा प्रतिबन्धमा परेपछिको २०७३ को निर्वाचनमा अध्यक्षमा शेर्पा पराजित भए । यसपछि वैशाख २२ मा भएको निर्वाचनमा ६३ मतसहित शेर्पा नेतृत्वमा आए । कुवँरको पक्षमा १२ मत मात्र खस्यो ।

विभिन्न मुद्दा झेल्दै एन्फाले नयाँ नेतृत्व पाएसँगै नेपाली दर्शक र फुटबल खेल प्रेमीले शेर्पाबाट फुटबल खेलको स्तरोन्नतिको आपेक्षा गरेका छन् । म्याच फिक्सिङ, भ्रष्टाचार, अनियमितता र भूकम्पले थलिएको फुटबलका भौतिक संरचना जस्ता दलदलबाट फुटबललाई माथि उठाउनु अहिलेको आवश्यकता हो । गुमनाम हुँदै गएको फुटबललाई ब्युझाउँनुपर्ने जिम्मेवारी उनको काँधमा आएको छ । यसै सन्दर्भमा नव निर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पासँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानीः

नेपाली फुटबल एन्फाकै कारण बदनाम भयो, अहिले लगभग गुमनाम छ, यस्तो अवस्थामा नेतृत्वमा आउनुभएको छ, कसरी अघि बढ्दै हुनुहुन्छ ?
अहिलेको मुख्य विषय भनेको फुटबल संघ नीतिगत ढंगले बलियो बनाउनुपर्छ । संघीय संरचनाअनुसारको विधान बनाउनुपर्नेछ । पारदर्शिताका लागि आर्थिक नियमावली चाँडै बनाउनुपर्नेछ । प्रशासन सञ्चालन नियमावली बनाउनुपर्नेछ । प्रदेशअनुसारका संगठनको संरचना निर्माण गर्नुपर्नेछ । जिल्ला र प्रदेशको फुटबल संघलाई वैधानिकता दिनुपर्नेछ र तिनलाई सम्बन्धित सरकारी निकायमा दर्ता गराउनुपर्नेछ । फुटबल संघका विभिन्न कार्यविधि र निर्देशिका पनि बनाउनुपर्नेछ । एन्फा र अरु संघ चल्न यसरी विधि र विधान तयार गर्न हामीलाई २–३ महिना लाग्ने देखिन्छ । हामीले यसका लागि काम शुरु गरिसकेका छौ । विधिविधान बमोजिम चलेन भने कस्तो हुने रहेछ भनेर हामीले विगतमा देखिसकेका छौ । यो कार्यसमितिको जोड नै नीतिअनुसार चल्नुपर्छ भन्ने हो ।

यो त एन्फालाई शुद्धीकरणको बाटोमा लैजाने प्रयास भयो, नेपाली फुटबल त खस्केको धेरै भइसक्यो, यसमा कसरी बढ्नुहुन्छ ?
नीतिगत रुपमा बलियो हुने कुरासँगै हामीले नेपाली फुटबललाई स्तरोन्नतिका लागि प्रयास थालिसकेका छौ । विगत ४ वर्षदेखि हुन नसकेको शहीद स्मारक लिग अब तोकिएको छ । क्लबलाई तयारीका लागि ६ महिना जति समय दिनैपर्ने हुन्छ । त्यसैले असोज १३ बाट लिग हुने गरी मिति तय भयो । १४ टिमले यसमा सहभागिता जनाउने भएको छ । यसले फुटबलमा एक किसिमको रौनक थपिनेछ । ग्रास रुटको कार्यक्रमलाई सबै जिल्लामा लाने निर्णय भइसकेको छ । विद्यालयमा उमे समूहको खेलहरु गर्ने कार्यक्रम पनि छन् । यसपटक धेरै कार्यक्रमहरु छन् । यसमा दीर्घाकालीन र अल्पकालीन योजनाहरु तयार हुँदैछ । सातै प्रदेशमा १४ वटा फुटबल एकेडेमी सञ्चालन गर्ने योजना बनाएका छौ । यसका लागि दातृ निकायहरुसँग हामी पुग्दैछौ ।


यस्ता कार्यक्रमहरु ल्याउँदै हुनुहुन्छ, तर भूकम्प यता एउटा स्तरीय रंगशालाको अभाव छ, पूर्वाधारबिना यो सम्भव छ र ?
रंगशालाको अवस्था नाजुक छ । यो बनाउने काम सरकारको हो । हामी सहजकर्ता हो । हामीले निर्वाचित भएको दोस्रो दिनमै गएर सरकारसँग भनिसकेका छौं । सरकारले १० महिनाभित्र दशरथ रंगशाला बनाइसक्ने जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले पनि सात वटै प्रदेशमा अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउने नीतिगत निर्णय गरेको छ । हाम्रो आग्रह यो निर्णय फास्ट ट्र्याकमा गएमा नेपाली फुटबलको विकास छिटो हुनेछ । यसका लागि हामी चाँडै नै प्रधानमन्त्रीसँग फेरि भेट्न जाँदैछौ ।

नेपाली फुटबलमा म्याच फिक्सिङ पनि एउटा रोग हो, तपाई यसको विपक्षमा देखिनुभएको छ, कसरी सम्भव होला म्याच फिक्सिङको अन्त्य ?
पदाधिकारीको संलग्नताबिना म्याच फिक्सिङ हुनै सक्दैन । मेरो प्रतिबद्धता हामी निर्वाचित पदाधिकारी यसमा इन्भोल्भ हुदैनौं । यस्तो हुन नदिनकै लागि हामी नीतिमा जोड दिइरहेका छौ । पक्का हो–मेरो पालामा यस्तो काम हुदैन ।

निर्वाचन नगरियोस भनी मुद्दा पनि परेको थियो, यस्तो अवस्थामा तपाईकै अगुवाईमा निर्वाचन भयो, कस्तो अप्ठेरो पर्दोरहेछ ?
यो अप्ठेरो ठाउँ नै थियो । यस्तो अवस्थामा एन्फा र नेपाली फुटबल क्षेत्रलाई सुधार गर्नुपर्छ भन्ने धेरै हुनुहुन्थ्यो । शुद्धीकरणको नीतिले गर्दा हामीलाई फुटबल क्षेत्रका धेरैले साथ दिनुभयो । सबै राजनीतिक दलका नेताज्युहरुको पनि साथ रह्यो ।

एउटा समूहको कब्जामा थियो एन्फा, अब तपाईको कब्जामा आयो भनेर कतिपयले आरोप लगाउन थालिसके नि ?
नेपाली फुटबलको विकासका लागि आएको हुँ म । परिवर्तनका लागि आएको हुँ । स्तरीय बनाउन आएको हुँ । यदि त्यसो गर्न सकिनँ भने एउटै व्यक्ति कूर्सीमा टाँसिरहनु हुँदैन । योग्य व्यक्तिलाई छाड्नुपर्छ भन्ने मेरो मान्यता हो । मैले राम्रो गर्न सकेन भने अर्को आउँछ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७५, आइतबार  ९ : १७ बजे