सम्पादकीय
दुई तिर फर्केका दुई ध्रुवका शक्तिशाली नेताहरुले शंका र अविश्वासकाबीच आफ्नो पहिलो वार्ता सेन्तोसा टापुमा सफलतापूर्वक सम्पन्न गरेका छन् ।
कुनै बेला एकले अर्कोलाई सिध्याईदिनसक्ने शक्ति र रिमोट थिचेकै भरमा खत्तम गरिदिन सक्ने धमासमा उत्रेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक किम जोङ उन जुन १२ मा भेट्दा यस्तो दुस्मनी थियो जस्तो लाग्दैनथियो ।
किमले त ट्रम्पलाई ‘पागल कुकुर’ सम्म पनि भनेको कतिपय समाचारहरुले प्रमुखताकासाथ प्रकाशन प्रसारण गरेको थियो । संसारकै शक्तिशाली देश अमेरिकाका राष्ट्रपतिलाई यसो भनेकोमा उत्तर कोरियालाई सायद अमेरिकाले बाँकी राख्दैनन् भन्ने शंका गरिसकेका थिए । यता ट्रम्प आफैले सिंगापुरको मिति सार्वजनिक गर्दासमेत मानिसहरुले पत्याइरहेका थिएनन् । बीचमा ट्रम्प आफैले यो मिति रद्द भएको बतायो । यसबाट ट्रम्पप्रति मानिसहरुको विश्वास घट्यो र उनले पुरानै मितिमा भेट निश्चित गरे ।
एकअर्काविरुद्ध वक्तव्यबाजीमा यसरी जुहारी खेलेका यी दुई सेन्तोसाको होटलमा मुस्कान साटासाट गर्दै हात मिलाए । दुबैले धाप मारे । ४५ मिनेट एक्लाएक्लै वार्ता गरे । चार बुँदे सहमतिसमेत जारी भयो । सँगै खाना खाए ।
शक्तिशाली देश अमेरिकालाई टक्कर दिने उत्तर कोरियाको पछाडि केही शक्ति त थियो नै होला । तर, यहाँ उत्पादन हुने आणविक हतियार अमेरिकाको लागि टाउको दुखाई बनिरह्यो । आणविक हतियार निर्माण बन्द गर्न र शान्ति सम्झौता गर्न अमेरिकाले पटकपटक कोशिश गरेकै हो । तर, यसअघिको पहलहरु सफल हुन सकेका थिएनन् ।
अमेरिकाले नाकाबन्दी नै लगाउनुप¥यो । यसका बाबजुद उत्तरले सन् २००६ मा न्युक्लियर बम परीक्षण गर्यो । बलास्टिक मिसाइल हान्यो । जसले गर्दा कोरियाका कतिपय स्थानमा भूकम्प नै गएको थियो । उत्तरलाई कसरी तह लगाउने भनी सोच्दासोच्दा उपाय नपाइरहेको अमेरिका र नाकाबन्दी झेलेर अजित बनेको उत्तरका नेताको एउटै उपाय थियो, वार्ता । त्यसैले यो वार्ता जुर्यो ।
यो भेट ऐतिहासिक कदममात्र हैन, यो त दुबै नेताहरुको साहस हो । शान्तिको माध्यमबाट सत्ता सञ्चालन गर्नुपर्छ भन्ने सन्देश दुबै नेताको भेटले दिएको छ । यो भेट र सम्झौता नक्कली नहोस, धमास र हिंसाको बाटो नबल्झियोस । शान्तिप्रेमी जनताको यही छ कामना ।