४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025

बिम्स्टेक सम्मेलन सोल्टीमा शुरु, ह्यातमा रात्रिभोज


१४ भाद्र २०७५, बिहिबार  

0
Shares

काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन प्रारम्भ भएको छ ।

प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले आज राजधानीको सोल्टी होटलमा आयोजित विशेष समारोहमा अपराह्न ४ बजे सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुलाई स्वागत गर्दै सम्मेलन प्रारम्भ भएको घोषणा गरेका हुन् । अध्यक्षको आसनबाट उद्घाटन मन्तव्य व्यक्त गर्दै ओलीले बिम्स्टेकको गहन एकीकरणको अपरिहार्यतामा जोड दिँदै शान्त, दिगो, विकासतर्फ उन्मुख एवं समृद्ध बिम्स्टेक क्षेत्र बनाउन सबै सदस्य मुलुकबाट आवश्यक प्रयास हुने विश्वास व्यक्त गरे ।

सम्मेलनमा नेपालसहित सात वटै सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख सहभागी हुँदै छन् । शिखर सम्मेलनमा म्यान्माका राष्ट्रपति विन मिन्त र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आआफ्नो मुलुकको प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् ।

त्यसैगरी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा नेतृत्वको प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी भएको छ ।

सम्मेलनमा कायममुकायम प्रधानन्याधीश, सङ्घीय संसद्का सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, बिम्स्टेकका महासचिव, नेपाल सरकारका वरिष्ठ अधिकारीलगायत उपस्थित छन् ।

शिखर बैठकको प्रारम्भसँगै अध्यक्ष ओलीपछि सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले वर्णानुक्रमानुसार सम्बोधन गरिसकेका छन् । केही बेरमै प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको रात्रि भोजमा सहभागी हुन बौद्धस्थित ह्यात होटलमा प्रस्थान गर्नेछन् ।  काठमाडौँ घोषणापत्र जारी गर्दै शुक्रबार अपराह्न शिखर सम्मेलन समापन हुनेछ । सम्मेलन समाप्तिसँगै बिम्स्टेकको अध्यक्षता श्रीलङ्काले गर्नेछ । यसअघि सन् २००४ मा थाइल्याण्ड, २००८ मा भारत र २०१४ मा म्यान्मामा बिम्स्टेक शिखर सम्मेलन भएको थियो ।

प्रकाशित मिति : १४ भाद्र २०७५, बिहिबार  ६ : १३ बजे