६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

तामाङ भाषा अनुवाद प्रणाली अति आवश्यक भइसक्यो : डा वल


१६ कार्तिक २०७५, शुक्रबार  

2
Shares

एभरेस्ट टाइम्स/न्युयोर्क

काठमाडौं विश्वविद्यालयका कम्प्युटर साइन्स र इन्जिनियरिङ विभागका प्रमुख एवं एसोसिएट प्रोफेसर डा बालकृष्ण वलले तामाङ भाषा अनुवाद प्रणाली अति आवश्यक भइसकेको बताएका छन् ।

तामाङ सोसाइटी अफ न्युयोर्कको आयोजनामा अक्टोबर २९ मा न्युयोर्कमा आयोजित कार्यक्रममा डा वलले उक्त भनाई राखेका हुन् ।


कार्यक्रममा उनले ‘ट्रिएङगल मेसिन ट्रान्सलेसन सिस्टम’ अर्थात त्रिभाषीय यान्त्रिक अनुवाद प्रणालीबारे आफ्नो प्रस्तुति दिएका थिए ।
भोजपुरमा जन्मिए पनि पोखरामा पढेकाले आफू तामाङ भाषामा कमजोर रहेको उल्लेख गर्दै वलले यसरी बिर्सँदै जानु भाषाका लागि खतरा भएको धारणा राखे ।

‘मलाई पनि तामाङ भाषा आउँदैन । त्यसैले तामाङ भाषाको माया लागेको छ र यसलाई प्रविधिमा ल्याएर प्रवर्द्धनमा लाग्न सके राम्रो हुने देखेर विगत डेढ वर्षदेखि यस भाषालाई प्रविधिमा ल्याउने प्रयासमा लागिरहेको छु,’ प्रस्तुति दिँदै वलले भने । डा वल विगत १३ वर्षदेखि भाषा प्रविधिमै काम गरिरहेको छन् । काठमाडौं विश्वविद्यालयमार्फत वलले नेपाली भाषाका विभिन्न एप्लिकेसन बनाउन लागिरहेका छन् ।
‘नेपाली भाषालाई पनि बिस्तारै प्रविधिमा लगिरहेको छ, नेपाली किबोर्ड बनेका छन्, प्रविधिबाट हाम्रो भाषालाई कसरी सहयोग पु¥याउने सकिन्छ यसबारे अब हामीले सोच्न थाल्नुपर्छ,’ उनको भनाई ।


तामाङ कि प्याड त बनिसकेको उल्लेख गर्दै डा वलले ल्यापटप र डेस्कटपका कि बोर्ड बनाउन जरुरी भइसकेको उल्लेख गरे । ‘यसमा हामीले तत्काल ध्यान दिनुपर्ने देखिन्छ । तामाङ कि प्याड बनाए पनि एन्ड्रोइड सिस्टममा यसको कमजोरी देखिएका छन् । कम्प्युटरले पनि हाम्रो भाषालाई चिन्नुप¥यो,’ उनले भने ।

कतिले आफ्नो भाषा बिर्सँदै गएको उदाहरण प्रस्तुत गदै डा वलले भाषा सिक्ने उत्साह पनि बिस्तारै सेलाएर गएको उल्लेख गरे । यता कुनै गाउँमा भने तामाङ भाषामात्र बोल्ने र अरू भाषा नजान्ने उल्लेख गर्दै तामाङ भाषामा ज्ञान भएको मान्छेलाई बाहिर ल्याउन जरुरी रहेको उनको भनाई थियो । ‘कतिले तामाङ भाषामात्र बोल्छन् । उहाँहरूलाई नेपाली र अंग्रेजीमा पनि ल्याउनुपर्छ,’ डा वल भन्छन्, ‘यान्त्रिक अनुवाद ल्याइदियो भने जुगजुगसम्म रहन्छ ।’
गुगल ट्रान्सलेसनको उदाहरण दिँदै उनले ठ्याक्कै नमिले पनि भन्न खोजेको नजिक पुग्ने र यसले सबैलाई सहयोग गर्ने बताए ।
भाषाविद् अमृत योञ्जनसँगको भेटेपछि यसमा कदम चालेको र डेढ वर्ष पुरा भइसकेकोको डा वलले जानकारी दिए । योजनामा डा वलसँग भाषाविद् योञ्जन र हाल अमेरिकामा पिएचडी अध्ययनरत लसाङ जिम्बा तामाङ सक्रिय रूपमा लागी परेका छन् ।


आफ्नो पहिचानलाई जोगाउन पछि पर्न नहुने उनको धारणा थियो । ‘तामाङ भाषी र गैर तामाङभाषीमा पनि यो प्रवर्द्धन गर्न र संरक्षण गर्न जरुरी भइसकेको छ । यो हाम्रो पहिचानको विषय पनि हो । यो लोपोन्मुख हुनुअघि नै हामीले केही गर्नुपर्छ । प्रविधिको हिसाबले यसलाई जोगाउनुपर्छ,’ डा वलले जोड दिए ।

प्रोजेक्ट पुरा भएमा २ जना पिएचडी र ५ जना स्नातकोत्तर जनशक्तिसमेत तयार हुने वलले बताए ।

पहिलो फेजमा ५ लाख तामाङ वाक्य तयार गर्ने ती वाक्यलाई नेपाली र अंग्रेजी भाषामा अनुवाद गर्ने उनको बताए । योजना पुरा हुन तीन वर्ष लाग्ने र २ करोड ३१ लाख रुपैयाँ खर्च लाग्ने डा वलले जानकारी दिए ।

टिएसएनएका अध्यक्ष लक्यान लामाको प्रमुख अतिथ्यामा कार्यक्रम भएको थियो । कार्यक्रममा अध्यक्ष लामाले यो योजना विश्वभर रहेका तामाङ समुदायका हितमा रहेकोले तामाङ सोसाइटी नर्थ अमेरिकाले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए ।

तामाङ सोसाइटी अफ न्युयोर्ककी अध्यक्ष गोमा योञ्जनका अध्यक्षतामा भएको कार्यक्रम सचिव दीपेन्द्र लामाले सञ्चालन गरेका थिए । कार्यक्रममा गोमा योञ्जनले धन्यवाद ज्ञापन गरेकी थिइन् । प्रस्तुतिपछि सहभागीसँग अन्तक्रिया गरिएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार  १० : २२ बजे