४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

स्थानीयदेखि केन्द्रीय तहसम्म भ्रष्टाचारले चरम रुप लिइसक्यो  : कमल थापा


२६ पुस २०७५, बिहिबार  

0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले देशको वर्तमान स्थिति स्थानीय तहदेखि लिएर केन्द्रिय तहसम्म भ्रष्टाचारले ब्रम्हलुटको रुप लिन सुरु गरिसकेको  दाबी गरेका छन् ।

बिहिवार राजधानीको भृकुटीमण्डपस्थित रिपोर्टस क्लबको साक्षात्कारमा थापाले सिंगो देशमा यतिवेला स्थानीय तहदेखि केन्द्रिय तहसम्म नै भ्रष्टाचार व्यापक रुपमा बढेको जिकिर गरेका हुन् ।

थापाले वर्तमान दुई तिहाईको सरकारबाट जनताले वर्ष दिन वितिसक्दा पनि परिवर्तनको अनुभुति गर्न नपाएको आलोचना गरे । उनले भने,‘दुई तिहाईको सरकार गठन भएको एक वर्ष पुग्न लाग्यो, तर जनताले यो अवधिमा परिवर्तनको अनुभुति गर्न पाएका छैनन् । अझ, यो बीचमा शान्ति, सुरक्षाको अवस्था बिग्रिएको छ । भ्रष्ट्राचारले सीमा नाघिसकेको छ ।’

‘महिलाविरुद्धका हिंसा, बलात्कारका घट्ना तिव्र रुपमा बढिरहेका छ ।’ थापाले भने, ‘सरकारले आफ्नो प्रभावकारी उपस्थिति देखाउन सकेको छैन् । विवादस्पद दुई वाइडबडी हवाई जहाज खरिद काण्ड पर्दाफास गर्न सकेको छैन ।’

उनले आफुहरुको पार्टी बाट भ्रष्‍ट्राचार नियन्त्रण गर्न सक्दो कदम चालिरहेको प्रष्टपार्दै भने, ‘विगतमा भएका ३८ क्विन्टल सुन तस्करीको काण्ड, साँढे ३३ केजी सुन काण्डलगायतका भ्रष्टाचारहरु, ऐनसेलको कर छली प्रकरण, राजश्व छलीका काण्डहरुमा समेत सरकार र अख्तियार दुरुपयोग अनुशन्धान आयोगले छानबिन गरेर कानुनबमोजिम कारबाही अगाडि बढाउन भनेर पार्टीको तर्फबाट आग्रह गरिरहेका छौं ।’

आफ्नो पार्टीले राष्ट्रिय एकता र अखण्डताको विषयलाई उच्च प्राथमिकताका साथ उठाईरहेको पनि थापाले जानकारी दिए । उनले भने,‘आम जनतालाई यसका बारेमा घच्घचाएर एउटा सशक्त जनमत सिर्जना गर्ने प्रयास गर्दछौं ।’

थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई फुटाउन देशी तथा विदेशी शक्तिहरु क्रियाशिल भएर लागि पर्ने दावा गर्दै भने, ‘जब–जब नेपालमा राष्ट्रवादी शक्ति बलियो हुन थाल्दछ, तब–तब त्यो राष्ट्रवादी शक्तिलाई कमजोर बनाउनको निमित्त देशी तथा विदेशी शक्तिहरु क्रियाशिल हुन्छन् । र, त्यसको प्रभावबाटै राप्रपा पटक–पटक फुट्न गएको छ ।’

उनले विगतका कमिकमजोरीहरु हटाएर अघि बढ्ने र सबै राप्रपालाई एकीकृत गर्ने र बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न आफूहरु लागिपरेको बताए । थापाले भने,‘यही क्रममा केही समय अघि पशुपतिजीले नेतृत्व गर्नुभएको राप्रपा (प्रजातान्त्रिक), डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गर्नुभएको एकीकृत राप्रपा राष्ट्रवादीसँग हामीले सघन रुपमा वार्ता गर्यौं ।’

उनले राणा र लोहनीले उठाएका सबै विषयहरुलाई आफूहरुले सम्बोधन गरेको पनि जिकिर गरे । उनले भने,‘सबै विषयहरुमा सहमतिपनि भयो । सहमतिअनुसार नै एकता गर्ने मिति र स्थान् पनि निर्धारण गर्यौं ।

‘एकता हुने एक दिन अगाडि हामीलाई आन्तरिक गृहकार्य गर्नको निमित्त समय पुगेन, चार/पाँच दिन समय चाहियो भनेर उहाँहरुले भन्नुभएको थियो ।’ उनले थपे, ‘तर, अहिले चार/पाँच दिनमात्रै होईन, चार/पाँच हप्ता, महिनौं बितिसकेको छ । अब म प्रतिक्षा गरेर बसिरहेको छु ।’

आफ्नो पार्टीले राजसंस्थाको एजेण्डा नछोडेको पनि उनले जिकिर गर्दै भने, ‘हामीले यो एजेण्डा छोडेका छैनौं । सँधै, हरेकपटक जोडेर हिँड्नुपर्ने आवश्यकत्ता छैन् । हाम्रो एजेण्डाको रुपमा यो यथावत छ ।’

प्रकाशित मिति : २६ पुस २०७५, बिहिबार  ६ : १३ बजे