एभरेस्ट टाइम्स/न्युयोर्क
ज्याक्सन हाइटस्थित शेर्पा किदुगको गुम्बा मङ्गलवार निकै व्यस्त देखिन्थ्यो । गुम्बा दर्शन गर्नेहरुको घुइँचो नै लागेको थियो । प्रायः शनिवार र आइतबार भीड लाग्ने किदुगको गुम्बा मङ्गलवार ल्होसारको पहिलो ( छेवाचि )दिन को पूजा भएकोले वर्षभरिकै सबैभन्दा बढी भिड लागेको थियो ।
शेर्पा समुदायको महान् चाड २१४६ औँ फाग्ल्हो ल्होसारको पहिलो दिनको पूजामा शेर्पा समुदायको साथै अन्य विभिन्न हिमालयन समुदायको बाक्लो उपस्थिति थियो । मनभरीको उत्साहका साथ गुम्बा दर्शन गरेर फर्कनेहरु आफन्तसँग भेटेर शुभकामना बाँड्न पाउँदा निकै खुसी देखिन्थ्यो । एकतिर जन्मभूमि नेपालको र अर्कोतिर कर्मभूमि अमेरिकाको झन्डाको साथ आयोजित पूजासँगै गुम्बा सामुन्नेमा बौद्ध परम्पराको पञ्चे रंगको ध्वजा ठडाएको थिए ।
त्यतिखेर लामा गुरुहरुसँगै सबैले एकै स्वरमा ‘क्येक्ये स्होस्हो ल्हाआ गेलो’ भगवानको जयजयकार गरेर विश्व शान्तिको कामना गरेका थिए । उक्त पूजा शेर्पा किदुग अन्तर्गत गठित ३२ जना सदस्यीय सम्मिलित मूल आयोजक समितिले आयोजना गरेको थियो । बिहानी पूजापाठपछि लामा गुरुहरुको धार्मिक नृत्यसँगै दिउँसो भएको शुभकामना आदानप्रदानपछि बेलुकी सबै जना एक आपसमा उल्लासमय वातावरणमा शेर्पा लोक नृत्य शेब्रु नाचेर रमाइलो गरेका थिए । यस पटक किदुगले गुम्बाको दुईतिरको बाटो बन्द गरी पहिलो पटक ज्याक्सन हाइटमा धार्मिक नृत्यसमेत प्रस्तुत गरेका थिए ।
यसअघि धार्मिक नृत्य ल्हाप्सुको बेलामा न्युयोर्क बाहिर हुँदै आएका थिए । यस पटक धार्मिक नृत्यसँगै सिटी काउन्सिलबाट क्विन्स बोरो प्रेसिडेन्ट मेलिना कर्ज, काउन्सीलमेन डेनियल ड्रम र बौद्ध धर्म गुरु अवतारी लामा टुल्कुले ल्होसारको सबैलाई शुभकामना दिएका थिए ।
गत वर्ष झै यस पटक पनि किदुगले ल्होसारको दिन सवैको सजिलोको लागी गुम्बा परिसरको बाटो बन्द गरेका थिए । ‘ल्होसारको पहिलो दिन सबै एकै ठाउँमा रमाइलो गरी शुभकामना आदान प्रदान गर्नका लागि यो पूजा कार्यक्रमको आयोजना गरेको हो,’ शेर्पा किदुगका महासचिव तेण्डी शेर्पाले भने, ‘विदेशमा भावी पुस्तामाझ मौलिक शेर्पा संस्कृतिको जगेर्नाका लागि पनि यो किसिमको कार्यक्रम गर्दै आएको हो ।’
उनका अनुसार यस पटक ल्होसारको पहिलो दिनका पूजा कार्यक्रममा करिब ५ हजार भन्दा बढीले गुम्बाको दर्शन गरेका थिए । यस पटक ग्याल्बु, सोनाम र चिनियाँको लुनार नयाँ वर्ष पनि सँगै परेकोले न्युयोर्कमा सरकारले सरकारी विद्यालय बन्द गरिएको थियो । ‘हामी ३२ जना सदस्यहरूले सामूहिक रूपमा ल्होसारको पहिलो दिनको कार्यक्रम आयोजना गर्न पाउँदा रमाइलो अनुभूति मिल्यो,’ सोलुखुम्बु खोरियाका छिरिङ शेर्पा गोर्जाले एभरेस्ट टाइम्ससँग भने, ‘हामीहरू सबैको सहयोगमा बिहान गुम्बामा लामा पढाउने, गुम्बामा ध्वजा लगाउने र सहभागीलाई खानपिनको व्यवस्था गरेका थियौ ।’ । उनका अनुसार हरेक जिल्ला र गाउँबस्तीबाट २ जनाको दर छानिएको आयोजक समितिको सदस्यबाट ३ सय डलर सङ्कलन गरी ल्होसारको पहिलो दिनको कार्यक्रम आयोजना गरिएको हो । तस्विरहरु तेन्डी शेर्पा र आङटि शेर्पा