१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा लगानी सम्मेलनभरका लागि ‘एनआरएन डेस्क’


१५ चैत्र २०७५, शुक्रबार  

0
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गैर आवासीय नेपाली संघ (एनआरएनए) डेस्क स्थापना भएको छ ।

नेपाल लगानी सम्मेलनको पूर्वसन्ध्यामा चैत १४ गते विमानस्थलमा ‘एनआरएन हेल्प डेस्क’ स्थापना भएको हो । डेस्कको औपचारिक उद्घाटनका लागि एनआएनए अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुल आचार्यलगायत विमानस्थल पुगेका थिए ।

एनआरएनले बिमानस्थलमा हेल्प डेस्क स्थापनाका लागि उपाध्यक्ष कुल आचार्यले जिम्मेवारी लिएका थिए । डेस्क स्थापनापछि आचार्यले खुसी व्यक्त गर्दै भनेका छन्, ‘हामीले लामो समयदेखि माग गरे अनुरुप आज नेपालको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एनआरएन डेस्क स्थापना भएको छ। गत जनवरी महिनामा बेलायतको अध्यागमन प्रणालीको अध्ययन भ्रमणमा आउनुभएका अध्यागमन विभागका प्रमुख श्री इश्वरराज पौडेल लगायतका अधिकृतहरुसँग गरिएको अन्तर्कृयामा यो विषय उठेको थियो। एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी, महासचिव आरके त्रिपाठी लगाएतका साथीहरुले अध्यागमन विभागका प्रमुखलाई लन्डनमा ज्ञापनपत्र बुझाउनु भयो। त्यस्तै हालै अध्यक्ष भवन भट्टले माननीय गृह मन्त्रिज्यूलाई एक पत्र लेखि अनुरोध गर्नुभयो। यो सबै काममा मैले समन्वय गर्ने मौका पाएँ, निकै खुसी लागेको छ ।’

यता विमानस्थलले भने नयाँ डेस्क स्थापना नभई लगानी सम्मेलन अवधिभरका लागिमात्र डिस्प्ले फेरिएको जनाएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार एनआरएनएको प्रस्तावमा लगानी सम्मेलनभरलाई एनआरएन डेस्कको डिस्प्ले राखिएको हो।

‘परराष्ट्र मुलुकबाट आउने कुटनीतिक नियोग, उच्च पदाधिकारीका लागि छूट्टै डेस्क पहिल्यै थियो। लगानी सम्मेलनलाई मध्य नजर गर्दै गैरआवसीय नेपाली संघको प्रस्तावमा लगानी सम्मेलन अवधिभरका लागि विमानस्थलले उही डेस्कमा डिस्प्ले राखिदिएको हो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने । बिहीबार उद्घाटन गरिएको अध्यागमन डेस्क विदेशी पाहुना, व्यवसायी तथा कूटनीतिक अधिकारीको सहजताका लागि चार दिनसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ११ : ०४ बजे