३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026

सत्य डराएपछि [कविता]


८ असार २०७६, आइतबार  

0
Shares

  • अजय छोचु-

सत्य अलि डराएपछि
सत्य कतै पछि हटेपछि
अनि कसैसँग तर्सेपछि
फोस्रो यथार्थ

सिंगार बिनाको स्त्रीजस्तै
कतै झ्याउँरिएको
कतै ओइलाएको
अलि पर अलग्गै
कुना लाग्दै गर्दा

मान्छेले बनाएको अत्तर
अनि सेक्सोफोनको
आवाजसँगै
झुठ, लावालस्करसहित
परिक्रमा गर्दैगर्दा

सम्मोहित समूदाय
मुस्कान फैलाउने अधरलाई
लिपिस्टिकको टच दिँदै
लोलाएका नयनहरु

सप्तरंगी परेलीले
सजिएपछि
कहिले म ओइलाइने
निर्गन्ध फूलसँगै

झुठ, जब सजिन्छ
एउटा पूर्णसत्य
स्थापित हुन्छ
गडगडाहट तालीहरुबीच
झुठ भव्य सत्य बनी
शेभायमान हुन्छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ८ : ३९ बजे