एभरेस्ट टाइम्स/न्युयोर्क
सानैदेखि नृत्य र खेलमा सक्रिय पासाङदावा शेर्पाले एभियसन हाइस्कुलमा ग्राज्युयटसँगै फिप्थइयर अवार्ड पाएका छन् । उनले एभियसन हाइस्कुलमा अध्ययन गर्ने १ सय ५० जना विद्यार्थी मध्येबाट २० जना छानिएको एनेक्सबाट ग्राज्युट गरेका थिए । एभिएसन अध्ययनका क्रममा विमान मर्मत गर्ने इन्टर्नसिप गर्दै आएका पासाङदावा अब विमानको नयाँ कुराहरु पत्ता लगाएर मर्मत गर्ने भएका छन् ।
नेपालबाट सानै उमेरमा अमेरिका आएका उनले शेर्पा लोक नृत्य र नेपाली मौलिक नृत्य सिकेका थिए । ८ वर्षको उमेरमा अमेरिका आएर नृत्य सिकेलगतै उनले नेपाली समुदायहरुको कार्यक्रमहरुमा नृत्य प्रस्तुत गर्ने गर्थे । नृत्यसँगै निरन्तर रुपमा कराते सिक्दै इन्टरनेसनल मार्सल आर्टस् एसोसियसनबाट पहिलो डन डिग्री लिनुका साथै कराते रेफ्रीको लाइसेन्ससमेत लिएका थिए । कराते खेलमा उनले गरेको मेहनतकै कारण विभिन्न पदकहरु समेत पाए ।
‘निरन्तर मेहनत र संघर्ष गरे सफलता हासिल हुने रहेछ,’ पासाङदावाले भने, ‘आफ्नै मेहनत र बुबाआमाको सहयोगले सोचेको अध्ययन पुरा गर्न पाएकोमा ज्यादै खुसी छु ।’ उनी निरन्तर अध्ययनसँगै पाएको सफलताको खुसी बाँड्न नेपालमा रहेको आफना बुबा आमालाई भेटन नेपाल गएका छन् । एक वर्षअघि नेपाल फर्केका उनको बुबा गायक गम्बु शेर्पा र आमा पासाङल्हमु शेर्पा पनि छोराको सफलतामा निकै खुसी छन् । दुई महिना नेपाल घुमेर एभिएसनको कार्यमा फर्कने योजना पासाङले बनाएका छन् । ‘पढाइ सकियो अब सेप्टेम्बरबाट काममा लाग्छु,’ पासाङले भने, ‘अध्ययन क्रममा इन्टर्न गर्दाको अनुभव र पढाई सकिए लगतै जेट ब्लु वा कुनै कम्पनीमा काम गर्ने सोचाई बनाइरहेको छु ।’ नेपालबाट आउनेवितिकै घरमा फोन र टिभि हेरेर खेर जाने समय नृत्य र कराते सिकेर शारीरिक र मानसिक रुपमा सुखी भएको अनुभव सुनाउँछ उनी । ‘घरमा बसेमा अल्छी हुने भएकोले सक्रिय हुन नृत्य र करातेमा लागेको अहिले फाइदा भएको छ,’ उनले भने ।
पासाङ एभियसनको अध्ययन क्रममा इन्टर्नसिपको लागि जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा दुई घण्टा विमानको इन्टर्न मेकानिक्सको काम गरेका थिए । अध्ययनसँगै कहिलेकाही काम ढिलोसम्म गरेर उसँगै ३ जना साथीहरु जेएफके विमास्थलको पार्किङ लटमा गाडीमै सुतेर बिहानै त्यहीबाट काममा जाने गरेको अनुभव सुनाउँछन् । ‘काम र पढाई दुबैतिर ध्यान दिन पर्ने भएकोले कहिलेकाही कामबाट घर फर्कन ढिलो भएमा गाडीमा सुतेर रात बिताउँछौ,’ पासाङदावाले सुनाए । उनका अनुसार एभिएसनको अध्ययन गरिसकेका विद्यार्थीहरुले अध्ययनका क्रममा लिएको शिक्षाअनुसार विमानमा आउने नयाँ नयाँ कुराहरु पत्ता लगाउने र समस्या आए बनाउने गरेको छ । ‘प्लेनको सिस्टम पनि फरक फरक हुने भएकोले कठिन हुदोरहेछ, तर सिकेमा जानिदो रहेछ,’ पासाङले भने । उनी एनेक्सको २० जना छनोट विद्यार्थीमा एक्लो नेपाली हुन् ।