न्यूयोर्क, अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) को आयोजनामा २५७०औं बुद्ध जयन्ती कार्यक्रम आज एल्महर्स्टस्थित फिप्ना कार्यालयमा भव्य रूपमा सम्पन्न भएको छ ।
महासंघका अध्यक्ष ए.पी. लामा शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका कन्सुलेट जनरल दधिराम भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी थिए । त्यसैगरी धर्मगुरु गिर्मे छोटक तथा एनआरएनए यूएसएका अध्यक्ष सतेन्द्र साह विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए । कार्यक्रम फिप्नाका महासचिव सुमन थाम्सुहाङले सञ्चालन गरेका थिए ।
कार्यक्रममा वक्ताहरूले वर्तमान विश्व परिवेशमा गौतम बुद्ध का शान्ति, करुणा र सहअस्तित्वका सन्देश अझ बढी सान्दर्भिक रहेको उल्लेख गर्दै ती मूल्यहरूलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले आगामी वर्षहरूमा अन्य संघसंस्था, एनआरएनए तथा नेपाली दूतावाससँग सहकार्य गर्दै कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

वक्ताहरूले लुम्बिनीमा बुद्ध जन्मिएको गौरवपूर्ण तथ्यलाई विश्वभर प्रभावकारी रूपमा प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औंल्याउँदै नेपाललाई बौद्ध तथा हिन्दू धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने धारणा राखे । यसबाट देशले उल्लेखनीय आर्थिक लाभ लिन सक्ने विश्वास पनि व्यक्त गरियो ।
प्रमुख अतिथि दधिराम भण्डारीले यस्ता राष्ट्रिय तथा सांस्कृतिक महत्वका कार्यक्रममा आफ्नो निरन्तर साथ, सहयोग र सहभागिता रहने प्रतिबद्धता जनाए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्ध धर्मावलम्बी, नेपाली समुदायका अगुवा तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
वक्ताहरुले प्रवासमा रहे पनि राष्ट्रिय महत्वका दिवसहरू निर्धारित मितिमै मनाउँदा यसको विशेष महत्व रहने धारणा राखे ।

कार्यक्रमको अन्त्यमा महासंघका अध्यक्ष शेर्पाले सहभागीहरूबाट प्राप्त सुझावलाई समेट्दै आगामी वर्षदेखि बुद्ध जयन्तीसँगै “शान्ति परेड” आयोजना गरिने घोषणा गरे । साथै न्यूयोर्क डिस्ट्रिक्ट ३० का एसेम्ब्ली मेम्बर उम्मेदवार सोमनाथ घिमिरेलाई डेमोक्रेटिक पार्टीको आगामी प्राथमिक चुनावमा पहिलो श्रेणीमा नाम दर्ता गराउन सफल भएकोमा अग्रिम बधाई दिए । सो अवसरमा उम्मेदवार घिमिरेले निर्वाचित भएमा बुद्ध जयन्तीलाई राज्यस्तरमा चिनाउने अभियानमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष शेर्पाले अन्त्यमा बुद्धका उपदेश– हिंसा नगर्ने, चोरी नगर्ने, गलत आचरण नगर्ने, झुट नबोल्ने र मादक पदार्थ सेवन नगर्ने – जस्ता पञ्चशीललाई जीवनमा लागू गर्न सके समाज शान्तिपूर्ण र समृद्ध बन्न सक्ने उल्लेख गर्दै बुद्धको सन्देश विश्वभर फैलाउनु सबैको साझा जिम्मेवारी भएको बताए । उनले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद व्यक्त गरे ।









