११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

क्यालिफोर्नियामा कोदोको ढिँडो र लोकल कुखुराको मासु पस्कँदै सिन्धुपाल्चोकका निम


१८ भाद्र २०७६, बुधबार  

0
Shares

ङिमा पाख्रिन/सन्नीभेल

क्यालिफोर्नियाको सन्नीभेलमा निम गुरुङ मिनी ट्रकभित्र उभिएर कोदोको ढिँडो मस्कँदै थिए । ढिँडो मस्कनुअघि रायोको साग, गोलभेडाँको अचार, भुटेको तिते करेला र लोकल कुखुराको मासुको झोल तयार पारिसकेका रहेछन् उनले ।

ग्राहक थिए नेपाली । अमेरिकी भूमिमा ढिँडो, नेपाली स्वादका तरकारी अनि अचार देखेपछि कुन नेपालीको मुख नरसाउला ?
नजिकैको मेचमा बसेर ढिँडो अर्डर गर्न थाले केहीले । एकैछिनमा निमले ढिँडो ओडाले । टेबलमा पुगेका ढिँडो जिब्रो पड्काउँदै खान थाले नेपालीहरुले ।

यसरी ट्रकबाटै खान सर्भिस गर्ने निम अमेरिकी डिभी परेपछि सिन्धुपाल्चोकबाट अमेरिका आइपुगेका रहेछन् ।
उनले भने, ‘सिन्धुपाल्चोकको पेट्कु गाविस ४ मा जन्मे पनि काठमाडौंमा हुर्के । डिभी परेर अमेरिका आएको अब २० बर्ष पुग्न लाग्यो ।’
फरासिला र जोशिला देखिने गुरुङ ग्राहकका लागि खान पकाउन र पस्कनै व्यस्त थिए । कोही त्यही बसेर खाँदै थिए । कोही उभिएर खाँदै थिए । कोही भने प्याक गरेर लैजान हतारिँदै देखिए ।

निम कोलोराडो हुँदै क्यालिफोर्निया आइपुगेका रहेछन् । क्यालिफोर्नियामा शुरुमा रेष्टुरेन्ट ब्यवसायी बनेका निमले ब्यवसायलाई फरक ढंगले गर्ने सोच बनाएर चार महिना यता फुड ट्रकमार्फत नेपाली स्वाद पस्कँदै छन् । पाँच जनाले रोजगारी पाईरहेका छन् । निमले फुड ट्रकबाटै नेपाललाई चिनाई रहेका छन् ।

रेस्टुरेन्ट र फुड ट्रकमा के फरक छ त ? जवाफमा निमले भने, ‘हिमालयन किचेन भनेर हामीले नै शुरु गरेका हौ । अहिले फुड ट्रकमा नै व्यस्त छौ । फुड ट्रक भनेको अलि फरक नै छ । सबै हतारमा हुन्छन् । उनीहरुको व्यस्ततालाई ध्यान दिएर खोलिएको हो । यहाँ खान छिटो पस्कनु पर्ने हुन्छ ।’ रेस्टुरेन्टमा ग्राहकले पर्खिनु पर्ने झन्झट भएकोले फुड ट्रकतिर मानिस आकर्षित हुन थालेको उनी बताउँछन् ।
बिहान ११ बजेबाट राति १० बजेसम्म यही सन्नीभेलमा व्यस्त हुन्छन् निम । यसको माग अरु ठाउँमा पनि भएकोले ब्रान्च खोल्ने योजना पनि छ उनको । ‘यहाँ बिहानको ११ बजेदेखि बेलुका १० बजेसम्म हुन्छु । यस्तै ट्रकको अरु ठाउँमा पनि माग छ । त्यसैले केही ट्रक थप्ने योजना बनाएको छु,’ निमले भने ।

नेपाली स्वादका ढिँडो भए पनि उनको फुड ट्रकमा धेरै बिक्री हुने चाहि झोल मम, चाउमिन र चिकेन मम रहेछ । ग्राहकमा बढीजसो नेपाली र भारतीय । बाँकी अमेरिकनदेखि अरु देशका नागरिक पनि ।

यसरी खान पस्कँदा नियम कतिको पालना गर्नुपर्छ त ? जवाफमा निमले भने, ‘सिटीको रुल अनुसार चल्नुपर्छ । पहिलो त फुड सेफ्टी नै हो । सरसफाईमा विशेष ध्यान दिनैपर्‍यो ।’

ग्राहकको सन्तुष्टिलाई आफ्नै सन्तुष्टि मान्छन् निम । उनी भन्छन्, ‘नेपालीहरुले धेरै मन पराइदिनुभएको छ । उहाँहरु सटिस्फाई भएर होला । फर्केर पनि खान आउनुहुन्छ ।’ रेस्टुरेन्टभन्दा केही सजिलो भए पनि फुड ट्रकलाई दुहुनो भैसीलाई झैं स्यहार्नु पर्ने उनी बताउँछन् ।

नेपालमा पर्यटन क्षेत्रमा काम गर्दागर्दै अमेरिका आइपुगेका निमको केही बर्षपछि नेपाल नै फर्कने योजना रहेछ । भन्छन्, ‘नेपालमा मैले केही समय रेस्टुरेन्ट पनि चलाएँ । पर्यटन व्यवसायमा थिएँ । यी सबै मिस गरिरहेको छु । अब केही बर्षमै नेपालमा फर्कन्छु र पर्यटन व्यवसायमै लाग्छु ।’

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ८ : ४४ बजे