५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

के हो कालापानीको नक्सा विवाद ?



काठमाडौं– नेपाली भूभाग कालापानीलाई भारतले आफ्नो सिमानाभित्रै पारेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको विवाद फेरि सतहमा आएको छ।

भारतले जम्मु–कश्मीर राज्यलाई दुई संघीय भूखण्डमा विभाजन गरेपछि आइतबार नयाँ नक्सा जारी गरेको थियाे । उक्त नक्सामा भारतले नेपालको कालापानी क्षेत्रलाई पनि आफ्नो भूमिमा देखाएको छ ।

लिपुलेक, कालापानीलगायत नेपाली भू–भागलाई भारतले आफ्नो नक्सामा समेटेकोमा विभिन्न क्षेत्रबाट विरोध भइरहेको छ । सत्तारूढ र विपक्षी दुवै दलका विद्यार्थी संगठनहरूले भारतीय अतिक्रमणको विरोध गर्दै राजधानीमा प्रदर्शन गरिरहेका छन् ।

भारतले हालै प्रकाशित आफ्नो नयाँ राजनीतिक नक्सामा कालापानी र लिपुलेक क्षेत्रलाई पुनः समावेश गरेकोमा तीव्र विरोध भएपछि परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै ती भूभाग नेपालकै भएको जनाएको छ।

प्रतिपक्षी कांग्रेसले मंगलबार नै भारतीय नक्साको विरोध गर्दै यसबारे सरकारको धारणा सार्वजनिक गर्न माग गरेको छ। यसैगरी नेत्रविक्रम चन्द समूहले बिहीबारदेखि एक साता लामो विरोधको कार्यक्रम सार्वजनिक गर्दै मोदीको पुत्ला जलाउनेदेखि नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा विरोधपत्रसम्म दिने जनाएको छ।

कालापानी विवाद के हो ?

हालै सार्वजनिक नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो भूभागभित्र गाभे पनि व्यवहारमा भने पहिलेदेखि नै यहाँ कब्जा गर्दै आइरहेको छ। भारतले चीनसँगको युद्धपछि सन् १९६२ बाटै कालापानीमा स्थायी सैन्य शिविर खडा गरेको हो ।

महाकाली नदीवारि पर्ने हुनाले कालापानी आफ्नो हुनुपर्छ भन्ने नेपालको अडान रहेको नापी विभागका भनाई छ। कालापानी, लिम्पियाधुरा र लिपुलेक वरको खोलालाई काली नदी भन्दै त्यो भूभाग आफ्नो भएको भारतले दाबी गर्दै आएको छ।

 

नक्सा सच्याउनुपर्ने माग गर्दै आज पनि विद्यार्थीको प्रदर्शन

शुक्रबार पनि नेपाल विद्यार्थी स‌ंघको आयोजनामा पशुपति बहुमुखी क्याम्पस चाबहिलका विद्यार्थीले विरोध र्‌याली गरेका छन् । नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजनामा विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा ‘हाम्रो सीमा हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्ने नारासहित नेपालको एक चिम्टी भू–भाग कसैले मिच्न नपाउने जस्ता नारा लगाइएको थिए ।

एक सय ५० भन्दा बढी विद्यार्थीसहित मित्रपार्कबाट सुरु गरिएको विरोध र्‌याली चाबहिल चोकलाई परिक्रमा गरी पशुपति क्याम्पसमा आएर कोणसभामा परिणत भएको थियो ।

सभामा बोल्दै विद्यार्थी नेता राजकुमार तामाङले भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भूमि अतिक्रमण भएकाले तत्काल उक्त नक्सा सच्चाउनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  १ : १४ बजे