५९ देशका १२ सय जना हिमाल चढ्दै

२०७६ मंसिर ४, बुधबार १०:२९

काठमाडौं– यो वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार २ सय आरोहीले अनुमति लिएका छन् ।

सर्वोच्च शिखर सगरमाथा, मकालु, मनास्लु, अन्नपूर्ण, अमादब्लमलगायत हिमाल तथा हिमशृङ्खलासहित ५३ हिमाल आरोहणका लागि १६१ समूहका १२ सय आरोहीले पर्यटन विभागबाट अनुमति लिएका हुन् ।

आरोहण अनुमति लिएका अधिकांश आरोही गन्तव्यतर्फ लागेका छन् । यो याममा सगरमाथाको आरोहण हुन सकेन । शरद ऋतुको यो याममा दुई आरोही समूहका १० जनाले सगरमाथा हिमाल आरोहणका लागि अनुमति लिएकामा असफल भएको विभागले जनाएको छ ।

मनास्लु हिमाल आरोहण सकिएको छ भने अहिले अमादब्लम हिमालको आरोहण चलिरहेको विभागले जनाएको छ । कति सङ्ख्यामा आरोही गन्तव्यमा पुगे भन्नेबारे यकिन विवरण आइनसकेको विभागले जनाएको छ ।

यो याममा विभिन्न हिमाल तथा हिमशृङ्खला आरोहणका ५९ देशका आरोहीले अनुमति लिएका छन् । विभागको पर्वतारोहण शाखाका अनुसार यो याममा सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि २७ आरोही समूहका २६४ र अमादब्लम हिमाल आरोहणका लागि २६ समूहका ३०१ ले आरोहण अनुमति लिएका छन् ।

शरद ऋतुको हिमाल आरोहणका लागि हालसम्म ६ करोड ३१ लाख ७१ हजार राजश्व सङ्कलन भएको विभागले जनाएको छ ।

सम्बन्धित समाचार