२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

यसरी हुँदैछ गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम



काठमाडाै‌– राष्ट्रिय गौरवको आयोजना भैरहवामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको काम ८४ दशमलव २५ प्रतिशत निर्माणको काम सकिएको छ । टर्मिनल भवन फिनिसिङ, प्राविधिक उपकरण जडानलगायतका बाँकी काम धमाधम भइरहेको छ ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा यो विमानस्थल सञ्चालन गर्ने गरी पूर्वाधार निर्माणको काम तीव्रगतिमा भइरहेको छ । सन् २०२० को मार्च महिनाभित्रै विमानस्थल सञ्चालन गर्नेगरी आयोजनाको कामको गति बढाइएको छ । पूर्वाधार निर्माण सकेर त्यसको तीन महिनापछि व्यवसायिक उडान थाल्ने योजना बनाएको छ ।

अहिलेकै अवस्थामा निर्धारित समयभित्र उडान भर्न कठिनाइ रहेको उल्लेख गर्दै उनले भौतिक पूर्वाधारको प्रगति रहे पनि विमानस्थलमा सञ्चारका उपकरण जडानका लागि लामो समय लाग्ने बताइएको छ। अबको ९ महिनापछि मात्रै विमानस्थलमा व्यावसायिक उडान सञ्चालन गर्न सकिने सम्भावना छ ।

अबको मुख्य काम विमानस्थलको टर्मिनल भवनको फिनिसिङ, टर्मिनल भवनभित्र जडान हुने केही उपकरण तथा धावनमार्ग र ट्याक्सी वेको काम धमाधम भइरहेको छ ।

विमानस्थलको कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्ग यसअघि नै कालोपत्र भइसकेको छ । भ्रमण वर्षको अवधिमै यो विमानस्थलालाई व्यावसायिक उडान सञ्चालन गर्ने र हालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न सहयोग पुग्ने प्राधिकरणका उच्च अधिकारीले बताउँदै आएका छन् ।

डिसेम्बर महिनाभित्र भौतिक संरचना निर्माण सक्ने र उपकरण जडानका समेत काम सकेर सन् २०२० मार्चको अन्त्यतिर सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरुमा उद्घाटन भएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । पछि दुई वर्षको निर्माण समयावधि थपिएको थियो । यो आयोजनका लागि दुवै चरणमा गरी सात अर्ब ३२ करोड हाराहारी खर्च हुने जनाइएको छ ।

 

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहिबार  २ : ४६ बजे