६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

बुढीगण्डकी प्रभावितले किन गरे दुई गाउँपालिकामा तालाबन्दी



काठमाडाैं– मुआब्जा कम तोकिएको भन्दै बूढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाले गोरखाको आरूघाट र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन्।

जिल्ला प्रशासन कार्यालय गोरखाले घरजग्गाको मुआब्जा थोरै तोकेको विरोधमा गोरखातर्फ आरूघाट, आर्खेत र धादिङतर्फ त्रिपुरासुन्दरीको खहरेका बासिन्दा विरोधमा छन्।

मंगलबार आन्दोलनरत प्रभावित क्षेत्रका बासिन्दाले नाराबाजी गर्दै दुवै गाउँपालिका कार्यालयमा ताला लगाएका हुन्। बुधबार तेस्रो दिन पनि आरूघाट बजार बन्द गरेका छन्। तालाबन्दीबाट गाउँपालिकाको सेवा प्रवाहमा समस्या भएको छ।

गत सोमबार बूढीगण्डकी आयोजना र जिल्ला प्रशासनले ९ सय रोपनी जग्गाको मुआब्जा निर्धारण गरेको थियो ।

मुआब्जाको दररेटले आफूहरुलाई अन्याय भएको स्थानीयको गुनासो छ । बजारमा घरजग्गा भएकालाई सुकुम्बासी बनाउने गरी दररेट तोकिएकाले मुआब्जा वृद्धि गरिनुपर्ने उनीहरुको माग छ ।

मुआब्जा निर्धारण समितिले जग्गालाई दस भागमा वर्गीकरण गरेर प्रतिआना ५० हजारदेखि ७ लाखसम्म दिने तय गरेको छ ।

लामो समयदेखि किनबेच रोक्का गरेर अहिले थोरै मुआब्जा दिन लागेको भन्दै बूढीगण्डकी प्रभावित आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले दररेट वृद्धि गरिनुपर्ने, ५ आनाभन्दा कम जग्गा हुनेलाई विशेष व्यवस्था गर्नुपर्नेलगायत माग गरेका छन् ।

गोरखातर्फ साविक १४ र धादिङतर्फ साविक १३ गाविस बूढीगण्डकी आयोजना निर्माण हुँदा प्रत्यक्ष रूपमा प्रभावित हुनेछन्। १२ सय मेगावाट क्षमताको बनाउने बूढीगण्डकी आयोजनाको डिपिआर तयार भएको लामो समय भए पनि निर्माण सुरू हुन सकेको छैन। सरकारले चीनको चाइना गेजुवा कम्पनीलाई आयोजना निर्माणको जिम्मा दिने निर्णय गरेको थियो।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १२ : ३८ बजे