१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कालापानीको विषय सुरुमै अन्तरराष्ट्रियकरण गरिए समस्या जटिल बन्छः दाहाल



काठमाडाैं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पहिला राजनीतिक र कूटनीतिक पहलबाट संवाद गरेर कालापानी सीमा समस्याको समाधान गर्ने कोशिश गर्नुपर्ने बताएका छन् ।

प्रेस सङ्गठन नेपालद्वारा बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले कालापानीको विषयलाई अन्तरराष्ट्रियकरण गर्न पाइँदैन, आवश्यक छैन भन्ने भाषामा आफूले नभनेको बताउँदै सुरुमा नै अन्तरराष्ट्रियकरण गरिएमा समस्या झन् जटिल बन्ने बताए।

सर्वपक्षीय सर्वदलीय बैठकको सुझावानुसार नै सरकारले सो विषयमा भारतलाई पत्र पठाएको बताउँदै त्यसको जवाफ भने आइनसकेको बताए । पत्रकारको प्रश्नमा उनले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे सर्वपक्षीय सर्वदलीय बैठक गरेर सरकारले आफ्नो धारणा स्पष्ट पारिसकेको भन्दै लिम्पियाधुरा नै महाकाली नदीको मुहान, महाकाली सीमा नदी भएकाले यसमा कहीँ कतै अन्योल नभएको बताए ।

उनले प्रधानमन्त्री अस्पतालमा उपचाररत रहेको अवस्थामा अर्का अध्यक्षले अध्ययन भ्रमणमा जाने कुरा स्वाभाविक नदेखिँदा हाललाई चीन भ्रमण स्थगन गरिएको स्पष्ट गरे ।

पूर्वप्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा र निर्वाचनका चरणपछि अब अलि बढी ध्यान राज्यद्वारा विगतमा पछि पारिएका क्षेत्रका जनताको विकास र समृद्धिमा केन्द्रित हुनुपर्छ भन्ने पार्टीको नीति रहेको स्पष्ट पारे ।

मन्त्रिपरिषद् पुनःगठनपछि सरकारको काममा गति आउने अपेक्षा र विश्वास जनता, सरकार र पार्टीले गरेको पनि उनले बताए ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  १० : ३६ बजे