२ असार २०८१, शनिबार | Sat Jun 15 2024

फिफ्नाको निर्वाचनमा राजकुमार विष्टले उम्मेदवारी दिने



न्यूयोर्क– नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिफ्ना) को सातौं अधिवेशन तथा नयाँ कार्यसमिति चयनको मिति तोकिएसँगै नेतृत्वको लागि उम्मेदवारीको चर्चा सुरु भएको छ ।

यसै क्रममा फिफ्नाका बरिष्ठ उपाध्यक्ष राजकुमार विष्टले यस पटकको अधिबेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । अगामी डिसेम्बर १५ तारिखमा न्युयोर्कको ज्याक्सनहाइटस्थित सत्यनारायण मन्दिरमा हुन लागेको फिफ्नाको अधिबेशनमा अध्यक्ष पदमा उम्मदवारी दिन लागेको बरिष्ठ उपाध्याक्ष विष्टले बताए ।

‘आदिबासी जनजातिको हितमा लाग्दै आउने क्रममा संस्थाको लक्ष्य र उद्देस्य प्राप्तिको लागि यस पटक मैले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको छु’ विष्टले एभरेष्ट टाइम्सलाई भने, ‘म जनजातिहरुको लागि काम गर्ने एक स्वतन्त्र उमेदवार हुँ, कुनै पनि राजनीतिक रंग लागेको छैन । कुनै राजनीतिक रंग बोकेर फिफनालाई शिविर बनाउने मेरो कुनै चाहना छैन ।’

मुस्ताङ किदुग, अमेरिकाको निवर्तमान अध्यक्ष समेत रहेका बिष्ट फिफ्नाको केन्द्रीय समितिमा स्वयम् सेवकदेखि कोषाध्यक्ष हुँदै, बरिष्ठ उपाध्यक्ष पदमा रहेर चार वर्ष काम गरेका व्यक्ति हुन् । उनले महासंघको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणासँगै विभिन्न योजनाहरु पनि सार्वजनिक गरेका छन् ।

फिफ्नाको नेतृत्वमा पुगेर नेपालको संविधान परिमार्जन गर्दै आदिवासीको कुरा थप्न पहल गर्ने, आदिबासी जनजातिहरु मुख्य मुद्दामा केन्द्रित हुने, महासंघको आर्थिक पक्ष बलियो बनाउने, संगठन बिस्तार र सांगठानिक सशक्तिकरणमा जोड दिने, फ्रेन्ड्स अफ फिफ्नाको अभियान सञ्चालन गर्ने, काउन्सिल अफ ट्रष्टिजको गठनको निम्ति कार्ययोजना सहित अभियान सञ्चालन गर्ने, अमेरिकी मुलधारमा प्रवेश गर्ने नेपाली राजनीतिकर्मी तथा संघसंगठनलाई अगाडि सहयोग गर्ने र मातृभूमिको सर्वोपरी हितका कार्यमा स्थानीय तह तथा नेपाली ड्यासपोरासँग सहकार्य गरेर अगाडि बढ्ने उनले जनाएको छ ।

फिफ्नाकै अधिबेशनमा किरात याक्थुङ चुम्लुङबाट संघीय समाजवादी पार्टी, अमेरिकाका महासचिव लोक चेम्जोङले र ग्याल्सुम्दा सेवा संस्थाका निवर्तमान अध्यक्ष छिरिङ राप्के लामाले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने चर्चा हुन थालेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  १२ : १५ बजे