७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कांग्रेसमा विभाग गठन गर्ने देउवाको तयारी, पाैडेलले के–के मागे ?



काठमाडौँ— कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यकाल सकिन तीन महिना बाँकी छँदा केन्द्रीय विभाग गठन गर्ने तयारी थालेका छन् । निर्वाचित भएको दुई महिनाभित्र गरिसक्नु पर्ने केन्द्रीय विभाग गठनको तयारी बल्ल तयारी गरेका हुन् ।

मंसिर २६ गतेको केन्द्रीय कार्यसमिति बैठकअघि नै देउवाले केन्द्रीय विभाग गठन, समितिहरूलाई पूर्णता र भ्रातृसंस्थाहरूको अधिवेशन टुंगो लगाउने तयारी गरेका छन् । देउवाको ४ वर्षको कार्यकाल फागुन मसान्तबाट सकिँदै छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने चौधौं महाधिवेशनको तयारी गर्नुपर्ने बेला विभाग गठनतिर लागेको भन्दै असन्तुष्टि जनाएका छन् । देउवाले उनीहरूसँग सहमति जुटाउन उपसभापति विमलेन्द्र निधिलाई खटाएका छन् ।

नियमित समयमा महाधिवेशन गर्न नसकिने र विधानअनुसार कार्यकाल एक वर्ष बढाउने करिब निश्चित भएकाले सहमति नजुटे पनि पार्टीका निकायहरूलाई पूर्णता दिने देउवाको तयारी छ ।

देउवाले संगठन, विदेश, जनसम्पर्क र प्रचार विभागसहित बहुमत आफूले राखेर अन्य विभाग रोज्न पौडेललाई निधिमार्फत प्रस्ताव गरेका छन् । त्यस्तै नेविसंघ र तरुण दलमा सभापतिसहित बहुमत सदस्य लिने देउवाको प्रस्ताव थियो ।

संघमा सभापतिसहित पदाधिकारीमा तीन महामन्त्री राख्ने र तीमध्ये संस्थापन, पौडेल र सिटौला पक्षले एक/एक महामन्त्री लिनेबारे समेत छलफल भएको थियो । निधिले विभाग, नेविसंघ र तरुण दलमा राख्ने व्यक्तिहरूको नामावलीसमेत पौडेलसँग मागेका थिए ।

पौडेलले नेविसंघ र तरुण दलमध्ये एउटाको नेतृत्व आफ्नो पक्षलाई दिनुपर्ने तथा संगठन, विदेश, जनसम्पर्क र प्रचार विभागमध्ये दुईवटा आफ्नो पक्षले पाउनुपर्ने माग गरेका थिए । तर पौडेलको प्रस्ताव मान्न देउवा तयार छैनन् ।

सुरुमा विभाग गठन गर्नै नहुने पक्षमा रहेका पौडेलले पछि ६०/४० को भागबण्डा गर्नुपर्ने बताएका थिए । पूर्वमहामन्त्री सिटौला पक्षलाई ६० प्रतिशत हिस्साबाटै समावेश गर्नुपर्ने उनको प्रस्ताव छ ।

देउवा आगामी केन्द्रीय कार्यसमिति बैठकअघि नै सहमति नभए आफ्ना पक्षका केही नेतालाई प्रमुख बनाएर विभाग गठन गर्ने पक्षमा छन् । विधानअनुसार सभापति चुनिएको दुई महिनामै विभाग गठन गर्नुपर्ने व्यवस्था छ ।

नेविसंघ दस महिनादेखि नेतृत्वविहीन छ । चार जना पदाधिकारीमै सीमित रहेको तरुण दलको कार्यकाल पनि कात्तिकबाट सकिएको छ । वर्षौंदेखि म्याद सकिएका अन्य दर्जन बढी भ्रातृसंस्थाका अधिवेशन भएका छैनन् ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  २ : १२ बजे