२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

न्युयोर्कका दुई तामाङ संस्थाबीच एकताका लागि वार्ता समिति गठन : लुईसाङ वाईबा र ङिमा पाख्रिन तोकिए मध्यस्थकर्ता


२७ मंसिर २०७६, शुक्रबार  

6
Shares

न्युयोर्क । तामाङ समाज अमेरिका र तामाङ सोसाइटी अफ न्युयोर्कबीच एकताका लागि शुक्रवार वार्ता समिति गठन भएको छ । समूदायको हितका लागि दुई संस्थाबीच एकताका अति आवश्यक देखिएको भन्दै दुबै संस्थाबाट वार्ता समिति गठन गरी एकताको पहल थालिएको हो ।

तामाङ समाज अमेरिकाबाट बुद्धिमान तामाङको संयोजनमा पाँच सदस्यीय वार्ता समिति गठन गरिएको छ । समितिमा समाजको तर्फबाट विनिता तामाङ, रोजबहादुर घिसिङ, तुलबहादुर तामाङ र दिलमाया तामाङ सदस्य छन् ।

त्यसैगरी तामाङ सोसाइटी अफ न्युयोर्कबाट दीपेन्द्र लामाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरिएको छ । लालमान तामाङ, छेमाङ लामा, निमा गोले र माया लामा सोसाइटीबाट सदस्य तोकिएका छन् ।

वार्ता सफल बनाउन तामाङ समूदायमा सक्रिय दुई व्यक्ति लुईसाङ वाईवा तामाङ तथा ङिमा पाख्रिन तामाङलाई मध्यस्थकर्ता तोकेको दुबै संस्थाका अध्यक्षद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा उल्लेख छ । तामाङ समाज अमेरिकाकी अध्यक्ष सानुमाया तामाङ र तामाङ सोसाइटी अफ न्युयोर्ककी अध्यक्ष गोमा योञ्जन तामाङद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यस ऐतिहासिक वार्ताको निम्ति तामाङ समुदायलाई विगत लामो समयदेखि प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा नेतृत्व तहबाट दिशानिर्देश गरिरहेका दुई व्यक्तित्वहरु; क्रमश: लुईसाङ वाईवा तामाङ तथा ङिमा पाख्रिन तामाङलाई वार्ताको मध्यस्थकर्ता तोकिएको औपचारिक घोषणा गर्दछौ ।’

दुबै संस्थाका अध्यक्षले वार्ताको सफलताको प्रतिवबद्धतासमेत गरेको छ । तामाङ समूदायमा सेवा गर्ने ध्येयका साथ सन् २००२ बाट न्युयोर्कमा स्थापित तामाङ संस्था २०१८ मा आइपुगेर विभाजित भएको थियो । विभाजनबाट नेपाली डायस्पोरामासमेत नकारात्मक असर पुगेकोले एकता नै अन्तिम उपाय भएको दुबै संस्थाले ठहर गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विभाजनबाट तामाङ समुदायलाई मात्र नभएर सिङ्गो नेपाली डायस्पोरालाई पर्न गएको नकारात्मक प्रभावलाई निस्तेज बनाउन हाल न्युयोर्कमा विंध्यमान दुई संस्थाहरु बीचमा शीघ्र भबिष्यमा वार्ता गराई तामाङ समुदायलाई पुन: एकताबध्द गर्ने यसै विज्ञप्ति मार्फत संयुक्त प्रतिबद्दत्ता जाहेर गर्दछौ ।’

स्रोतअनुसार तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्षहरु र तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामाले पनि दुई संस्थाको एकताका लागि पूर्ण सहयोग गर्दै आएका छन् ।

यस्तो छ संयुक्त विज्ञप्ति

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ९ : ३४ बजे