काठमाडौँ— कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय जिल्ला सभापतिहरूले राजधानीमा बृहत् भेला आयोजना गर्ने निर्णय गरेका छन्। महाधिवेशनको कार्यतालिका र भ्रातृसंस्थाको भागबन्डालाई लिएर पार्टीभित्र विवाद चर्किंदै गर्दा पौडेलपक्षीय १७ जिल्ला सभापतिको आइतबार राजधानीमा बसेको बैठकले माघ महिनाभित्र भेला गर्ने निर्णय गरेको हो।
जिल्ला सभापतिसहित ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रकै प्रतिनिधि सहभागी हुने गरी भेला आयोजना गर्ने निर्णय गरेको हो । पार्टीलाई विधि र विधानसम्मत रूपमा अघि बढाउन नेताहरूलाई दबाब दिन भेला आयोजना गर्न लागिएको भन्दै आए पनि कतिपयले संस्थापन र इतरपक्षबीच भागबन्डाका विषयलाई लिएर पछिल्लो समय जारी विवाद मिलाउन दबाब दिने गरी सभापतिहरूले भेला आयोजना गर्ने निर्णय लिएको बताएका छन्।
काभ्रे, नुवाकोट, रामेछाप, संखुवासभा, जाजरकोट, बाँके, डडेलधुरा, सिन्धुपाल्चोक, खोटाङ, रोल्पा, उदयपुरलगायत १७ जिल्लाका सभापतिको बैठकले भागबन्डा दिने र माग्ने काम बन्द गर्नसमेत दुवै पक्षका शीर्षनेतालाई अपिल गरेका छन्। सभापति शेरबहादुर देउवाले विधानअनुसार विभाग गठन गर्न नसक्ने निष्कर्ष उनीहरूको छ। देउवाले गत मंसिर २६ को केन्द्रीय कार्यसमिति बैठकमा विधानको संख्या थपेर गठन गर्ने एजेन्डा प्रस्तुत गरेका छन्।
आवश्यक देखिएमा विधानको संख्या केन्द्रीय कार्यसमितिको बहुमतबाट बढाउन सकिने भए पनि विभाग गठन विधानविपरीत हुन्छ। एक वर्षअघि महासमिति बैठकले संशोधन गरेको विधानमा महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र विभाग गठन भइसक्नुपर्ने व्यवस्था छ।
सभापति देउवाले केन्द्रीय कार्यसमितिको चार वर्षको कार्यकाल सकिने बेलामा विभाग गठनको एजेन्डा अघि सारेका हुन्।