दशरथ रंगशालाबाट आज भ्रमण वर्ष शुभारम्भ हुँदै

२०७६ पुष १६, बुधबार १०:२६

काठमाडाैं– सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को आज (बुधबार) देखि सुरु हुँदैछ । काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ र प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

भ्रमण वर्षको भव्य उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको भ्रमण वर्ष सचिवालयले जनाएको छ । भ्रमण वर्षको उद्घाटनस्थल रङ्गशालामा आज पूर्वाभ्याससमेत गरिएको थियो । उद्घाटन समारोहलाई विशेष बनाउन सबैखालको तयारी गरिएको सचिवालयले जनाएको छ ।

साँझ ४ बजेदेखि सुरु हुने औपचारिक कार्यक्रम पाँच घण्टासम्म चल्नेछ । सहभागी पाहुनाको स्वागत सेलिब्रेटीबाट गरिनेछ । नेपालको संस्कृति झल्कने नाचगानबाट सुरू हुने कार्यक्रममा प्रहरी, सशस्त्र प्रहरी, सेनाको सहयोगमा राष्ट्रगान बजाइनेछ ।

राष्ट्रगान सकिएलगत्तै बाजासहित रङ्गशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ । कुटुम्ब ब्याण्डको साङ्गीतिक प्रस्तुतिमा विभिन्न सङ्घसंस्थाले परेड गर्नेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्नेछन् । भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गरिनेछ । भ्रमण वर्षको ‘यति मस्कट’को सार्वजनिकसँगै विभिन्न सांस्कृतिक कार्यक्रम गरिने भ्रमण वर्षको कार्यक्रम तालिका बनाइएको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई सार्थक तुल्याउन सरकारी निजी क्षेत्र एवं आम सर्वसाधारण स्वःस्फूर्त रुपमा लागिपरेका छन् । सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

सम्बन्धित समाचार