२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी : ट्रम्प



एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरुमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि पनि अमेरिकी सेनातर्फ कुनै क्षति हुन नपाएको जानकारी दिएका छन् ।

यस कुरालाई ध्यानमा राखी अमेरिकाले सजगता र सतर्कता अपनाएका कारण त्यस्तो कुनै पनि क्षति नभएको बताए । बुधबार राति राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसबाट राष्ट्रपति ट्रम्पले टेलिभिजनमार्फत् सार्वजनिक सम्बोधनमा उक्त कुरा बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकी र इराकी नागरिक एवम् सैनिकतर्फ पनि कुनै क्षति नभएको बताए । अमेरिकी सैन्य आधार शिविरहरूलाई आधार बनाएर इरानले उक्त हमला गरेको थियो ।

इराकी अर्धसैन्य बलका प्रमुखको हत्याको बदला लिने भन्दै इरानले बुधवार इराकमा रहेको अमेरिकी सैन्य शिविरमा शक्तिशाली क्षेप्यास्त्र हानेको थियो ।

राष्ट्रपति ट्रम्पले इरान र अमेरिकाबीचको तनाव उत्कर्षमा रहेका बेला बुधबार राति सम्बोधन गरेका हुन् । आफ्नो धारणा सार्वजनिक गर्दै उनले यो आक्रमणबाट इरान नै तल परेको बताए।

उनले मध्यपूर्वमा अमेरिकाको प्रभाव थप बढ्ने पनि बताए । राष्ट्रपति ट्रम्पले यसका लागि आफ्नो सेनाको संख्या मध्यपूर्वी क्षेत्रमा अझै थप्ने पनि बताए ।

उनले अमेरिकी सेना विश्वकै शक्तिशाली रहेको भन्दै इरानले कहिल्यै पनि आणविक हतियार प्राप्त गर्न नसक्ने दाबी पनि गरे ।

इरानले अमेरिकाप्रतिको आफ्नो रवैया परिवर्तन गर्नुपर्ने उनको जोड थियो । इरानले आफ्नो कार्यशैलीमा सुधार नल्याएसम्म अमेरिकाले उसमाथिको प्रतिबन्ध जारी नै राख्ने पनि बताए ।

उनले अमेरिकाको भौतिक सम्पत्ति या नागरिकमाथि इरानका तर्फबाट कुनै पनि प्रकारको आक्रमण भए इरानमाथिको नाकाबन्दीमा अहिलेको तुलनामा थप कडाई गर्ने समेत बताए ।

राष्ट्रपति ट्रम्पले आईएसआईका प्रमुख अब्बु अली बग्दादी र इरानी सेनाका सैन्य कमाण्डर कासिम सुलेमानीमाथिको कारबाही गरेर अरु धेरै मानिसलाई बचाएको दाबी पनि गरे ।

इरानमाथिको पछिल्लो कारबाहीको विषयलाई लिएर रुस, चीन र जर्मनीले सर्वजनिक गरेको प्रतिक्रियाको खण्डन गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको परमाणु सम्झौता त्यागेर सही काम गरेको पनि बताए ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहिबार  २ : १८ बजे