३० जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025

जनयुद्ध दिवसमा किन जाँदैनन् ओली



काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली पार्टीले बिहीबार धुम्बाराहीमा आयोजना गरेको जनयुद्ध र जनआन्दोलनका सहिदहरुको स्मृतिमा आयोजित श्रदाञ्जली कार्यक्रममा सहभागी भएनन्। प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा सम्बोधन गर्ने प्रचार गरिए पनि अन्तिम समयमा ओली उपस्थित भएनन्। कार्यक्रममा प्रचण्ड, वामदेव गौतम, विष्णु पौडेललगायतका नेताहरु सहभागी थिए।

माघ २७ गते पार्टी कार्यालयका सचिवद्वय इश्वरी रिजाल र श्रीराम ढकालले सूचना जारी गरेर कार्यक्रममा ओली र दाहालले सम्बोधन गर्ने उल्लेख थियो। तर अन्तिम समयमा उनी कार्यक्रममा सहभागी भएनन्। ओली आउने भन्दै प्रचार गरेर जनयुद्ध दिवसको कार्यक्रममा नगएको यो पहिलो पटक भने होईन्।

प्रदेश र संघको चुनावमा तालमेल गरेर पार्टी एकताको अन्तिम चरणका पुगेको बेला २०७४ फागुन १ गते तत्कालीन माओवादीको युवा संगठन वाइसीएलले पेरिसडाँडामा मनाएको जनयुद्ध  दिवसमा पनि ओली र दाहाल आउने भन्दै प्रचार गरियो। तर कार्यक्रममा दाहाल मात्रै उपस्थित भए, ओली गएनन्। तत्कालीन एमालेबाट वामदेव गौतम सहभागी भएका थिए।

त्यस्तै पार्टी एकतापछि २०७५ फागुन १ गते पनि तत्कालीन माओवादी र एमालेका जनसाँस्कृतिक महासंघले २४ औं जनयुद्ध दिवस प्रज्ञा भवनमा मनायो। त्यसमा तत्कालीन एमाले निकट जनसाँस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई उपस्थित थिए, तत्कालीन माओवादीबाट भने दाहाललगायतका नेताहरु थिए।

एकतापछि नेकपाको ब्यानरले जनयुद्ध शब्द खासै रुचाएको छैन्। २०७५ फागुन १ गते पनि नेकपाको ब्यानरमा ‘सहिदहरुको सम्मान’ नाम दिएर मनायो। यो कार्यक्रममा पनि प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल सहभागी हुने बताइएको थियो। तर अन्त्यमा ओली सहभागी भएनन्, प्रचण्ड मात्रै सहभागी भए। तत्कालीन एमालेबाट हाल नेकपाका महासचिव विष्णु पौडेल सहभागी थिए।

पार्टी एकतापछि ०७५ फागुनमै काठमाडौं उपत्यकासहित देशभर सहिद सप्ताह मनायो। तत्कालीन माओवादीको पहिलो सहिद दिलबहादुर रम्तेलले ज्यान गुमाएपछि फागुन १४ गतेदेखि २१ गतेसम्म सहिद सप्ताह मनाउँदै आएको थियो। माओवादीले सहिद सप्ताहमा जिल्लाहरुमा तत्कालीन युवा संघ र वाइसीएलको ब्यानरमा मनाएको थियो। काठमाडौं उपत्यकामा पनि दुबै संगठनको ब्यानरमा मनाएका थिए।

उक्त कार्यक्रममा उपत्यकाका सहिद परिवालाई सम्मान गरिने थियो। मुख्यत तत्कालीन माओवादी केन्द्रीय कार्यालय हाल नेकपाको भातृ संगठनको कार्यालय पेरिसडाँडामा मनाएको सहिद सप्ताहमा पनि ओली र दाहाल दुबै आउने भनिएको थियो। तर अन्त्यमा ओली गएनन्, दाहाल मात्रै गएका थिए। उक्त कार्यक्रममा तत्कालीन एमालेबाट योगेश भट्टराई सहभागी भएका थिए।

बिहीबारको कार्यक्रम भने प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँगै सल्लाह गरेर कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्। बिहान महत्त्वपूर्ण भेटघाट र छलफल कार्यक्रम भएकाले जान भ्याउनुभएन। त्यसैले अध्यक्ष प्रचण्डमात्रै सहभागी हुनुभएको हो,कार्यक्रममा नगएकोबारे थापाले भने ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहिबार  ५ : ४० बजे