मेलुङ गाउँपालिका-४ दोलखा, भेडपुस्थित उर्गेन छोइलिङ गु्म्बाका प्रमुख धर्मगुरु कुसुम लामाको निधन भएको ४९औं दिन पुगेको छ । यस अवसरमा बौध्द धर्म परम्परा अनुसार विशेष पूजा (घेवा) गरिने पारिवारिकले जनाएको छ । ८९ वर्षीय प्रमुख धर्मगुरु लामाको गत असार ३० गते काठमाडौंमा निधन भएको हो ।
धर्मगुरु लामाको असामयिक निधनप्रति भक्तजनसहित संसारभरका लामा गुरुहरु, बौद्ध धर्मलम्बी संघ-संगठनहरुले दुख व्यक्त गर्दै आएका छन् । प्रख्यात धर्मगुरु लामाको निधनबाट बौद्ध धर्मलम्बीहरुले अपुरणीय क्षति व्यहोर्नु परेको भन्दै सामाजिक सञ्जालदेखि विभिन्न माध्यमबाट उहाँप्रति श्रद्धान्जली दिएका छन् ।
पारिवारका अनुसार धर्मगुरु लामाको पार्थिव शरीरलाई ४९ औं दिनमा सदगत गर्ने निर्णयमा परिवारजन पुगेको थियो तर देश विदेशका धर्मगुरुलगायत रेन्पोछेहरुबाट प्राप्त सुझावलाई मनन गर्दै परिवारजन र पूजामा खटिएका गुरुहरु उहाँको पार्थिव शरीरलाई एक वर्षपछि मात्र सदगत गर्ने निर्णयमा पुगेका बताईएको छ । पार्थिव शरिरलाई धर्मगुरुकै इच्छा बमोजिम उहाँकै निवासमा राखेर बौद्ध धर्म परम्पराअनुसार नियमित पूजा गरिने पारिवारिक स्रोतले बताएको छ ।
पारिवारिक सदस्यले बताए अनुसार ४९ औं दिनको घेवा पूजामा आफन्तजन, बौद्ध धर्मलम्बी र चिनजानका सबैलाई प्रार्थनाका लागि निमन्त्रणा गरिए पनि तर कोभिड-१९ महामारीका कारणले गर्दा निकट आफन्तहरु र परिवारजनका उपस्थितीमा पूजा कार्य सम्पन्न गरिनेछ। एक वर्षपछि हुने पार्थिव शरिरको सदगत पूजामा सबैलाई पुन: निमन्त्रणा गरिने कार्य बताईएको छ ।
स्व. धर्मगुरुका लागि ४९ औं दिनसम्म नियमित पूजापाठ र प्रार्थनामा लागेका गुरुहरु, आफन्तजनहरु, भक्तजनहरु प्रति आभार ब्यक्त गर्दै परिवारजनले एक वर्षसम्म नियमित रुपमा पूजापाठ र प्रार्थना गरी धर्मगुरु लामाको मुक्तीको कामना गर्न अनुरोध समेत गरेका छन् ।
बौद्ध परम्परामा किन पार्थिव शरिरलाई राखिन्छ वर्ष दिनसम्म ?
बौद्ध परम्परा अनुसार परिवारको सदस्यको मृत्यु भएको १३औं दिनदेखि ४९ औं दिनभित्र घेवा गरिन्छ । तर पार्थिव शरिरको सदगत भने फरक फरक समयमा हुन सक्छ । मृतकको परिवारका सदस्य, आफन्त तथा नातागोता पर्खनु परेको अवस्थामा वा कसैलाई विशेष सम्मान दिनका लागि दाहसँस्कार ढिलाइ हुने गर्दछ । यसरी राखिएको पार्थिव शरीरको अगाडि छ्योमे (बत्ती) बाल्ने, खान राख्ने र हरेक दिन पूजा गर्ने चलन छ ।
प्रख्यात वा सम्पन्नशाली व्यक्तिको मृत्यु हुँदा मृतकको ईच्छानुसार विशेष स्थान वा गुम्बामा वर्ष दिनसम्म पनि पार्थिव शरिरलाई पूजा गरी राख्ने चलन रहेको छ । देवलोकमा पुग्न मुक्ती मार्गको कामना गर्दै उच्च सम्मानका लागि पार्थिव शरिरलाई यसरी राखिने बताइन्छ ।