काठमाडौं । आफ्नै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बहुसंख्यक सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि जोखिममा परेको कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद अन्ततः जोगिएको छ । पार्टी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपालबीच सहमति भएपछि उनको पद जोगिएको हो ।
दुवै पक्षले मन्त्रीहरुमा भागबण्ड गर्ने सहमति गरेका छन् ।
आइतवार मुख्यमन्त्री शाहीबिरुद्ध कर्णालीका १८ सभासद्ले अबिश्वासको प्रस्ताव दर्ता गराएका थिए । मुख्यमन्त्रीको दावेदार मानिएका यमलाल कँडेलको नेतृत्वमा पूर्व एमालेका सबै र पूर्व माओवादीका समेत तीन जनाले अबिश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
तर केन्द्रमा प्रधानमन्त्री केपी ओली, दाहाल र नेपालको गुट रहेकोमा दाहाल र नेपालले सहमति गरेका हुन् । ओली पक्षले पनि अघि नबढ्न भनेको बताइएको छ । नेकपा संसदीय दलका उपनेता सुभास नेम्वाङले मन्त्री पदबाट राजीनामा दिन लागेका आफ्ना गुटका सांसदहरुलाई राजीनामा दिनबाट रोकेका थिए ।
कर्णाली नेकपामा मुख्यमन्त्री शाहीसँग १३ (पूर्वमाओवादी समूह), यामलाल कँडेलसँग १२ (ओली समूह) र प्रकाश ज्वालासँग ८ (नेपाल समूह) सांसद रहेको बताइएको छ । अविश्वासको प्रस्तावमा ओली र नेपाल समुहका १५ र पूर्व माओवादी तीनजना सांसदले हस्ताक्षर गरेका थिए ।