- आङ बाबु शेर्पा, न्युयोर्क
मानव विकासको क्रममा ढुङ्गे युग हुँदै फलामे युगमा प्रवेश गर्ने समयसम्म मानव जातिको स्थायी बसोबास कुनै राष्ट्रको नागरिक नभएको र प्रायजसो सिकारको खोजी गर्दै घुमन्ते जीवन व्यतीत गरेको पाइन्छ । यसै क्रममा आजभन्दा १५ हजार वर्ष पहिले साइबेरिया र पूर्वी एसियाका बासिन्दाहरू अमेरिकी महादेश प्रवेश गरेको तथ्य इतिहासमा उल्लेख रहेको पाइन्छ, जुन बेला क्यानडा र रसियाको भूभाग जोडिएको थियो । कुनै वैज्ञानिकले आजभन्दा १०,००० वर्ष पहिले बरफ युग थियो र हालको युक्ची समुद्रमाथि बाक्लो बरफ जमेको कारण यी आदिबासीहरुलाई एसिया महादेशबाट अमेरिकी महादेश प्रवेश गर्न सहज भएको हो भनी उल्लेख गरेका छन् ।
हाल संयुक्त राज्य अमेरिकाको सरकारी अभिलेख अनुसार अमेरिकामा ५७४ प्रकारका जाति र भाषाका आदिवासीहरू रहेका छन् । इतिहासको तथ्य केलाउँदा अमेरिकी महादेशको उत्तरदेखि दक्षिणसम्म बस्ती बसाउनेहरू पूर्वी एसियाबाट अमेरिका बसाई सर्ने क्रममा समूह-समूह गरी विभिन्न कालखण्डमा प्रवेश गरेको देखिन्छ र यी मध्ये मुख्य जातिहरूमा अपाचे, बेल्यकफुट, चेरोके, चेयेनी, चिककासवा, क्री, इनुइट, एरोकुइस, नवजो, नेज, ओसगे, पोएब्लो, सेमिनोले र सिवोस रहेका छन् ।
यिनीहरूको पेसा, खानपिन र भेष भूषा प्राय प्राकृतिक वातावरण अनुसारको पाइन्छ । जस्तै, आर्टिक समुद्र छेउछाउ बस्नेले सधैँ बरफसँग बस्नु पर्ने भएकाले सिल र माछाको सिकार गरी जीवनयापन गर्ने गर्दथे । मरुभूमिमा बस्नेहरूले अमेरिकन भैँसी बेसोनको सिकार गर्दथे भने मिसिसिपी नदीको किनारमा बस्नेहरूले सिकारको अलावा खेतीपाती गर्दथे, मुख्य बालीको रूपमा मकै, फर्सी र सिमी उब्जाउँथ्यो ।
प्रशस्त खेती योग्य जल, जमिन र फलफूल तथा राम्रो मौसमको कारण मध्य अमेरिकामा जनसङ्ख्या वृद्धिदर तीव्र गतिमा हुन गयो र यसबाट बस्ती बिस्तार भई ठुलो-ठुलो सहरहरूको निर्माण भयो । इस्वी स्वमत पूर्व १८०० मा माया सभ्यताको उदय भएको थियो । त्यसै बखत कलाकृति, साङ्केतिक लिपि, साहित्य र माया ज्योतिष शास्त्रको विकास भएको थियो । भनिन्छ सायद इजिप्टको पिरामिड र लिपि यिनै माया सभ्यताबाट प्रभावित भएको हो । माया पात्रोको अन्त्य सन् २०१२ सालमा भएको थियो । सहर बस्ती बिस्तारको साथै विभिन्न भुरे टाकुरे राज्यहरू स्थापना हुन गयो र राज्य बिस्तारको क्रममा हर्ने पक्षलाई नरबलि दिने प्रथा अनुरूप हजारौँलाई जिउँदै मुटु निकाली देवतालाई चढाउने काम गरियो । यी र यस्तै कारणहरूले गर्दा सन् २०० ताका माया सभ्यताको पतन भयो । १५ औँ शताब्दीमा उत्तर र दक्षिण अमेरिकी महादेशमा अदिबासीहरुको सङ्ख्या लगभग १८ मिलियन जति भएको अनुमान गरिएको छ ।
हालको मेक्सिकोमा अजटेक सभ्यतासहितको राज्य थियो, सन् १४९२ मा स्पेनको रानीको खर्चमा कोलम्बसलाई इन्डिया गएर सुन लिएर आउनु भनी पठाएको तर पूर्व जानु पर्ने, अज्ञानताको कारण अमेरिका आइपुगेको थियो, जुन दिन बहमास बन्दरगाहमा कोलम्बसले पहिलो पाइला टेके, त्यसै दिन अमेरिकी आदिवासीहरू उनलाई देखेर अचम्मित भए, भाषाको कारण दोहोरो संवाद हुन सकेन । त्यसैले उनीहरूले सायद भगवानले पठाएको दूत होला भन्ठाने । कोलम्बसले भने आफू हराएको छ भन्ने थाहा नभएर आफू इन्डिया पुगेको र उसले सोचेको जस्तो कालो नभई रातो रङ्गको मानव देखेकाले आदिवासीलाई रेड इन्डियन भनी नामकरण गरे ।
यिनै कोलम्बसले युरोपभरि अमेरिका बारे झ्याली पिटेको कारण सन् १६९७ मा स्पेनिस सेनाले हालको मेक्सिकोलगायत सम्पूर्ण मध्य अमेरिकी भूभाग कब्जा गर्न सफल भयो । यस लडाइ र रोगको कारण हजारौँ आदिवासीहरूले ज्यान गुमाउनु परेको थियो र बाँचेको प्रायलाई क्याथोलिक धर्म अङ्गीकार गर्न र स्पेनिस भाषा बोल्न बाध्य परिएको कारण हालसम्म यी भाषा र धर्मले निरन्तरता पाइरहेको छ ।
संयुक्त राज्य अमेरिकामा पनि पछि आएर मानव बस्ती बसाउनेहरूले स्थानीय आदिवासी रेड इन्डियनहरूको संस्कृतिमाथि दमन गरेको पाइन्छ । यिनीहरूको संस्कृति लोप भई संरक्षण क्षेत्र घोषणा गरी संरक्षण गर्नुपर्ने स्थिति सृजना भयो । सन् १८६७ मा संयुक्त राज्य अमेरिकाले अलास्का राज्यको भूमि रसिया सँग $७.२ मिलियनमा खरिद गरेको थियो । यस समयमा यहाँ धेरै आदिवासीहरू बसोबास गर्ने गर्दथे तर रोग र महामारीको कारण धेरै जनाले ज्यान गुमाई केवल २५०० जना मात्र बाच्न सफल भएको थियो ।
सन् १९२४ मा संविधानले सबै आदिबासिहरुलाई नागरिकताको प्रमाणपत्र दिने विधेयक पारित गरेको थियो तर कुनै राज्यले सन् १९५७ सम्म आदिबासीहरुलाई मताधिकारबाट वञ्चित गरेको पाइन्छ । आदिवासीहरू मध्येबाट अमेरिकाको मूलधारको राजनीतिमा संलग्न भई हालसम्म ४ जनाले माथिल्लो सदन सेनेट्मा प्रतिनिधित्व गरेका छन् भने तल्लो सदन हाउस ओफ रेप्रेजेंतेभमा १८ जनाले प्रतिनिधित्व गरी सकेका छन् । यसै गरी अमेरिकी इतिहासमा आदिवासी मूलका एक जना उप राष्ट्रपतिले कार्यभार समाली सकेका छन् । हाल संयुक्त राज्य अमेरिकाले आदिबासीहरुको धर्म र संस्कृति संरक्षण गर्नको लागि संघीय सरकारले नै धेरै राज्यहरूमा रिजर्भेसन ल्यान्ड छुट्टाएको र उक्त जग्गा आदिवासी बाहेक अरूले भोग चलन गर्न नपाइने नियम बनाइएको छ ।
आदिवासीहरूले मादक पदार्थ सेवन (जाड, रक्सी), धूम्रपान (सुर्ती, खैनी) र घोडा प्रयोग गर्ने तरिका युरोपीयनहरुबाट सिकेको थियो तर विडम्बना मादक पदार्थ र धूम्रपानको कारणले मृत्यु हुनेको अनुपात अरू जतिको तुलनामा आदिवासीहरू बढिरहेको तथ्याङ्कले देखाउँदछ । आदिबासीहरुको सांस्कृतिक नृत्य भारतको नागाल्याण्डबासीसँग मिलेको देखिन्छ भने समुदायमा मुख्य छान्ने प्रवृत्ति नेपालको राउटेसँग मिलेको देखिन्छ । यो मुख्य छान्ने प्रथा हालसम्म यिनीहरूको समुदायमा चालिआएको छ र यिनीहरूले अरू जातिको नेतालाई भन्दा आफ्नो मुख्यलाई बढी विश्वास गर्ने गर्दछन् । कतिपय कट्टर पन्थी आदिवासीहरू अहिलेसम्म पनि अङ्ग्रेजी नबोल्ने र बिजुलीलगायत अन्य आधुनिक उपकरण र सामग्रीहरू प्रयोग नगरी पुरानै शैलीमा जीवनयापन गरिरहेको पाइन्छ ।
मानव शास्त्रीय अध्ययनका क्रममा मानवको शरीरमा पाइने अनुवंश DNA को आधारमा मानवको कुल वा पुर्खा तीन प्रकारका पाइएको प्रमाणित गरेको छ भने द्रबिंडा र शिहलीहरुको DNA यी तिनैवोटा समूहभन्दा फरक पाइएको छ । शेर्पा र अमेरिकन आदिवासीलाई मोङ्गोलाइड क्लस्टर अन्तर्गत राखिएको छ । हालै गरिएको शेर्पाको अनुवंश नमुना परीक्षणबाट आएको नतिजामा हजारौँ वर्षको अन्तरालमा समेत ५% अमेरिकन आदि बासीसँग मिलेको पाइएको छ । शेर्पाहरूले सातौँ शताब्दीमा बुद्ध धर्म अङ्गीकार गर्नु पूर्व बोन धर्म (अनिमिस्टिक) जसलाई झाँक्री तन्त्र वा शमानिज्म भन्ने धर्म र आदिवासी अमेरिकनहरूले मान्ने धर्म एउटै हो जसमा प्रकृति पूजा, सुर्य पूजा, चन्द्रमा पूजा र पितृ पूजा गरिन्छ । यसैगरी मिल्ने संस्कारहरुमा, पूर्वजन्म र भावी जन्ममा विश्वास गर्ने औतारी प्रथा, बसन्त ऋतुमा नयाँ वर्ष फेरिने, महिनाको नाम जुन राख्ने, लुनार पात्रो अनुसार गर्ने जन्म, विवाह र मृत्यु संस्कारहरू मिलेको देखिन्छ । भूमि पूजा (सलुंग) प्रकृति पूजा (ल्हाप्सो) र पाँच तत्त्वको प्रतीक स्वरूप बुटी लगाउने पनि मिल्दछ ।