प्रतिनिधिसभाको बैठक फागुन २३ गते

२०७७ फाल्गुन १७, सोमबार २१:००

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।

नेपाल सरकारका सिफारिशमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सो अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत आज जनाएका छन् ।

यस अघि सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिश गरेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको बैठकका लागि सिफारिश गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतको फैसलाअनुसार सरकारले प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते बोलाउने विषयमा छलफल भएको हो । सर्वोच्च अदालतले यही फागुन ११ गते १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो ।

प्रधानमन्त्री केपी ओलीको सिफरिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रतिनिधिसभा बिघटन गरेकी थिइन ।

सम्बन्धित समाचार