काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द समूहबीच मंगलबार पहिलो चरणमा वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको बताइएको छ ।
सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्माका संयोजकत्वमा मङ्गलबार अलगअलग वार्ता समिति सार्वजनिक भएको थियो । हिंसात्मक गतिविधि गर्न थालेपछि प्रतिबन्ध लगाइएको सो समूह राष्ट्र, राष्ट्रियता र जनजीविकाका विषयमा वार्ता र संवाद गर्न तयार भएपछि वार्ता प्रक्रिया अघि बढेको हो ।
वार्तामा सरकारी टोलीका भट्टराईसहित गृहमन्त्री रामबहादुर थापा र चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्मा र उदय चलाउने सहभागी थिए।
वार्तामा आगामीका वार्ताका लागि मोडालिटीसम्बन्धी प्रारम्भिक छलफल भएको बताइएको छ । यससँगै नेपाल प्रहरी र महान्यायाधिवक्ताको कार्यालयसँग थुनामा रहेका चन्द समूहका नेता/कार्यकर्ताको विस्तृत विवरण झिकाएर अर्को चरणमा थप छलफल गरिने बताइएको छ ।