१८ मंसिर २०८०, सोमबार | Tue Dec 5 2023

तेजावबिरुद्धको अभियन्त मुस्कानलाई अमेरिकी सरकारले दिने अन्तर्राष्ट्रिय साहसी महिला पुरसस्कार



काठमाडौँ । एसिड आक्रमण पीडित र पछि एसिड आक्रमणविरुद्धकी अभियन्ता मुस्कान खातुनलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गरिने भएको छ ।

अमेरिकी विदेश मन्त्रालयले यस वर्षको  पुरस्कार खातुनलाई दिने निर्णय गरेको नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

एसिड आक्रमण अन्त्यतर्फ लक्षित उनको कार्यका लागि यो पुरस्कार दिइने बिज्ञप्तिमा उल्लेख छ । यो पुरस्कार पाउने मुस्कान पहिलो नेपाली हुन् । त्यस्तै उनी यो पुरस्कार पाउने सबैभन्दा कम उमेरकी व्यक्ति पनि बनेकी छिन् ।
८ मार्चमा एक भर्चुअल पुरस्कार समारोहमा अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री टोनी ब्लिङ्कन सहभागी कार्यक्रममा पुरस्कार दिइने छ ।

१५औँ वर्षमा रहेको आईडब्ल्यूओसी पुरस्कारले व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्दछ । यसका अघिल्ला विजेतामध्ये पाकिस्तानमा महिला तथा किशोरीहरूका लागि वकालत गर्ने कामका लागि सम्मानित मलाला युसुफजई पनि छिन् । जो सबैभन्दा कम उमेरकी नोबेल पुरस्कार विजेता हुन् ।

१५ वर्ष उमेर छँदा एक किशोरको प्रेम प्रस्ताव अस्वीकार गर्दा मुस्कानमाथि एसिड प्रहार भएको थियो । उनको अनुहार, छाती र हातमा गहिरो चोट लागेको थियो । लामो समय अस्पतालको पीडादायी बसाइपछि उनी ठीक भइन् ।

त्यसपछि पनि धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि वकालत गरिन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एसिड आक्रमणकारीलाई कडा सजायको व्यवस्था गर्न माग गरिन् । त्यसपछि सरकारले तेजाब हमलासम्बन्धी अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी गर्‍यो । यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्त्वपूर्ण थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ९ : ०९ बजे