एमाले बिबाद : झलनाथ–माधव समूहको राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि, नजान निर्देशन

२०७७ चैत्र ३, मंगलवार २१:१८

काठमाडौं । नेकपा (एमाले) को झलनाथ–माधव समूहले यही चैत ४ र ५ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएका छन् । ललितपुरका मंगलबार आयोजित पत्रकार सम्मेलनमा बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापीरुपमा पार्टी पङ्क्तिलाई त्यस आधारमा अघि बढाउनका लागि राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेको जानकारी दिइएको हो । भेलाकोे सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।

उक्त समूहका प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी कठिन अवस्थाबाट गुज्रिरहेको घडीमा धैर्य र संयमताका साथ पार्टीको सुदृढ एकता र विधानसम्मत सञ्चालनका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्न पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकमा आग्रह गरे । राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीलाई सुदृढ, एकताबद्ध, क्रियाशील र विधान सम्मतरुपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल गर्न गइरहेका उनले जानकारी दिए ।

नेता भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिमा भेलामा केन्द्रीय कमिटीका तर्फबाट एक अवधारणपत्र प्रस्तुत गरिने, टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्न पाउने गरी छलफल र पारित गरिने उल्लेख छ । भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटीका सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, सङ्घ तथा प्रदेशका सांसदलगायत दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताको उपस्थिति रहनेछ ।

पार्टी एकता विरोधी, विधान प्रतिकूल र एकलौटी कदमले सिर्जना गरेका पार्टी एकताका चुनौतीलाई एकताबद्धरुपमा प्रतिवाद गर्दै असफल पार्न आम पार्टी पङ्क्तिलाई आह्वानसमेत गरिएको छ । विज्ञप्तिमा जनताको बहुदलीय जनवादको मूल्य र मान्यताको रक्षा गर्दै पार्टीलाई एकाधिकारवाद, गुटवाद र विभाजनबाट बचाउँदै लोकप्रिय, क्रान्तिकारी र लोकतान्त्रिक शक्तिका रुपमा विकास गर्नका लागि सबै नेता, कार्यकर्ता र आम जनमुदायको एकताबद्ध प्रयास यसबेला थप खड्किएको उल्लेख छ ।

सर्वोच्च अदालतको आदेशबाट नेकपा (एमाले) पुनःस्थापना हुनुको अर्थ कुनै व्यक्ति विशेषको मात्र पुनःस्थापना नभई सिङ्गो पार्टीको पुनःस्थापना भएकाले त्यसअनुसार पार्टी पंक्तिलाई परिचालन गरेर मात्र पाटी बलियो हुने उक्त समूहको ठहर छ । एमाले पूर्ववत अवस्थामा फर्किनु भनेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित दस्तावेज, विधान र त्यस विधानका आधारमा टोलदेखि केन्द्रसम्म निर्माण भएका कमिटीको स्वतः पुनःस्थापना भएको र सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्ने र पार्टीलाई विभाजनतर्फ लैजाने प्रयास भइरहेकासमेत विज्ञप्तिमा छ ।

भेलामा नजान एमालेको निर्देशन
यसैबीच एमालेको नाममा यही चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्ने भनी सूचना प्रचार भएके भन्दै महासचिव ईश्वर पोखरेलले उक्त भेला आधिकारिक नभएको जनाएका छन् ।

महासचिव पोखरेलको विज्ञप्तिमा ‘यस्तो अनाधिकृत गुटगत भेला नगर्न÷नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा (एमाले) ले सबै नेता÷कार्यकर्तालाई विशेष निर्देशन गरिएको छ ।’’ ‘’अन्यथा, मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम हुने कुरा पनि स्पष्ट गरिन्छ” विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित समाचार