काठमाडौंमा लम्बियो थप एक साता निषेधाज्ञा, थप कडाइ

२०७८ बैशाख २१, मंगलवार १७:२९

काठमाडौं उपत्यकामा थप एक साताका लागि निषेधाज्ञा लम्ब्याइएको छ । अब वैशाख २९ गतेसम्म निषेधाज्ञा रहनेछ ।

मंगलबार बसेको उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

साथै उपत्यकाको निषेधाज्ञालाई थप कडाई गर्ने पनि निर्णय गरेको छ । नयाँ आदेश अनुसार अब अत्यावश्यक सामाग्रीका पसलहरु पनि विहान मात्र खोल्न पाइने छ । यसअघि विहान र वेलुका खोल्न पाइन्थ्यो । साथै फुटपाथ पसलहरुलाई पनि बन्द गरिनेछ ।

बैंक तथा वित्तीय संस्थामा कर्मचारी सीमित गर्ने, सरकारी कार्यालयमा पनि कर्मचारी र सवारी साधनको संख्या घटाउने व्यवस्था गर्ने निर्णय भएको छ। यसको व्यवस्था सम्बन्धित मन्त्रालय र विभागबाटै गर्ने प्रमुख जिल्ला अधिकारीको निर्णय छ।

बैठकले बैंक तथा वित्तीय संस्थाको हकमा काठमाडौं उपत्यकामा २५ प्रतिशत शाखा कार्यालयहरु मात्र खुला गर्ने र केन्द्रीय कार्यालयहरुले २० प्रतिशत मात्र जनशक्ति प्रयोग गरी कार्य सञ्‍चालन गर्ने व्यवस्था मिलाउने र सोको विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिनुपर्ने निर्णय गरेको छ ।

त्यसैगरी अत्यावश्यक सेवाबाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था संस्थान, बिमा लगायतका कार्यालयहरु एक चौथाइ कर्मचारीमात्र उपस्थित हुने गरी सञ्‍चालन गर्न व्यवस्था मिलाउने, सरकारी कार्यालयको हकमा मन्त्रालयको सचिव वा विभागीय प्रमुखद्वारा जारी गरेको सवारी पास र परिचय पत्रका आधारमा आवातजावत गर्न दिने ।

अत्यावश्यक कार्य, बिरामी, कुरुवा, मृत्यु संस्कार तथा मलामीको हकमा विषय खुल्ने कागजात र सम्बन्धित स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले सहजीकरणको व्यवस्था मिलाउने, विकास निर्माण सम्बन्धमा सम्बन्धित आयोजनाहरुले नै आवासीय कामदार राखी अनिवार्य रुपले स्वास्थ्य मापदण्ड पालना गरी कार्य सञ्‍चालन गर्ने/गराउने पनि थप निर्णय गरिएको छ ।

सम्बन्धित समाचार