११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

कांग्रेस र माओवादीले बहुमत पुर्याउन सकेन, ओली फेरी प्रधानमन्त्री बन्दै



काठमाडौं । जसपा र एमालेको माधव नेपाल समुहको समर्थन जुटाउन नसक्दा कांग्रेस र माओबादीले सरकार बनाउने मौका गुमाएको छ । यी दुई दलको शीर्ष नेताले बहुमतको सरकार दाबी नगर्ने निर्णय गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने निर्णय गरेको हो । यससँगै अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै फेरि प्रधानमन्त्री बन्ने निश्चत भएको छ ।

संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमाको अन्तिम दिन नेकपा एमालेको विवादमा नयाँ ट्वीस्ट आएसँगै वैकल्पिक सरकार गठनको सम्भावना सकिएको हो ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष नयाँ सरकार गठनको पक्षमा नदेखिए पछि कांग्रेस र माओबादी नेताले एमालेको नेपाल समुहले सांसदबाट राजीनामा दिएर सघाउने अपेक्षा राखेको थियो । तर दिउॅसो ओली र नेपालबीचको बार्तापछि राजीनामाको संभावना टर्यो ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग बिहीबार विहान भएको भेटमा ठाकुर र महतोले साथ दिन नसक्ने बताएका थिए ।

यसअघि बिहीबार विहानै स्थायी कमिटीको बैठक राखेर चार नेतामाथि गरेका कारबाही फिर्ता लिएका एमाले अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालसँग झण्डै साढे ४ घण्टा वार्ता गरेका थिए ।

सिंगो जसपाले साथ नदिने र नेपाल समूहका सांसदहरुले राजीनामा पनि नदिने भएपछि कांग्रेस र माओवादी नेताहरु नयाँ सरकार गठनका लागि दाबी नगर्ने निर्णयमा पुगेको कांग्रेस नेता प्रकाशशरण महतले बताएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ८ : ०२ बजे