काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निक्वाचन आचार संहिता लागु भईसकेपछि पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा नेता रामबहादुर थापालाई विजय गराउन आग्रह गरेर बक्तब्य निकालेका छन् । उनले बुधवार अपिल जारी गर्दै यही जेठ ६ गते हुने उपनिर्वाचनमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार गृहमन्त्री थापालाई सूर्य चिह्नमा मतदान गरी जिताउन सबै मतदातालाई आग्रह गरेका हुन् ।
वाग्मती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि बिहीबार निर्वाचन हुँदैछ । उक्त पदमा थापा सहित डा खिमलाल देवकोटाको उम्मेदवारी परेको छ । डा देवकोटालाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीको सहयोग छ ।
निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता छन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले २०७७ फागुन २३ गते एमाले पुनःस्थापना भएपछि हुन लागेको निर्वाचनको विशेष महत्व रहेको र यसले आफ्नो पार्टीको सामथ्र्य, एकता र अनुशासनलाई स्थापित गर्ने बताएका छन् ।
उनल् निर्वाचनमा एकताबद्ध सङ्कल्प र सफलताले पार्टी एकतालाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । “जेठ ६ गते वाग्मती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा रामबहादुर थापा हाम्रो पार्टीका उम्मेदवार हुनुहुन्छ”, उनले अपिलमा भनेका छन्, “उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एक जना वरिष्ठ नेता हुनुहुन्छ । उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्याउने छ । तसर्थ यस निर्वाचनमा एकताबद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनुहुन आग्रह गर्दछु ।
◦