साहित्यकार डा गिरिको निधन

२०७८ जेष्ठ १०, सोमबार १५:३१

काठमाडौँ । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पुर्‍याइएको आधा घण्टामा नै उनको निधन भएको थियो । उनी मधुमेह र अल्जाइमर रोगबाट पनि पीडित थिइन् ।

त्रिमूर्ति निकेतनका आयोजनामा डा गिरिलाई २०७१ सालमा प्रधानमन्त्री सुशील कोइरालाद्वारा रथारोहण गराइनाका साथै रु पाँच लाख राशिसहित ‘नेपाली साहित्यका विश्व नारीरत्न’को उपाधि पनि दिइएको थियो । विसं २०७६ मा वानीरा फाउण्डेशनको स्थापना भएको थियो । सो फाउण्डेशनको पूँजी करीब रु सात करोड बराबर रहेको संस्थाका सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए ।

गिरिको जन्म २००२ साल चैत २९ गते दार्जिलिङको खर्साङमा भएको थियो । उनी विसं २०२२ मा स्नातकोत्तर अध्ययन गर्न काठमाडौँ आएकी थिइन् । उनी २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापन पेशामा आबद्ध थिइन् । नेपाली भाषासाहित्यमा विद्यावारिधि (गोपालप्रसाद रिमालको काव्यसम्बन्धी २०४२) उनी पहिलो नारी हुन् ।

डा गिरिका जीवन थाय्मरु, शब्दातीत शान्तनु, कारागार जस्ता कविता, निबन्ध र उपन्यास गरेर १४ कृति प्रकाशित छन् । उनका कृति विश्वका विविध भाषामा अनुवाद भएका छन् । नरेन्द्रराज प्रसार्इँद्वारा डा वानीरा गिरिको जीवनीकृति ‘विश्व नारीरत्न वानीरा गिरि’ २०७० प्रकाशन भएको छ भने सोको अङ्ग्रेजी भाषामा दुर्गा वनवासीले अनुवाद २०७० प्रकाशित छन् ।

सन् १९७६ मा रुसमा सम्पन्न अफ्रोएसियाली युवा लेखक सम्मेलनमा डा गिरिले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेकी थिइन् । डा गिरिका पति, एक छोरा र एक छोरी छन् ।

सम्बन्धित समाचार