काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साताका लागि निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय गरेको हो । उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा लगाइएको हो ।
कोभिड १९ को जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । संक्रमितको संख्या कम हुँदै गएपनि जोखिम बाँकी नै रहेको निष्कर्ष निकालिएको हो ।
यद्यपी तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खोल्न दिने र अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन आउने बताइइको छ । साथै शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशासनले पुस्तक पसल पनि बिहान ११ बजेसम्म खोल्न दिने निर्णय गरेको छ ।
अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ । हालै निर्माणका कार्यलाई सहजीकरण गर्न गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए ।
कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजीकरण गर्ने निर्णय भएको गरेको छ । उनका अनुसार विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजीकरण गर्ने निर्णय गरिएको छ ।
यसअघि भएका प्रमुख जिल्ला अधिकारीहरुको छलफलमा जोर–विजोर प्रणालीमा यातायात सञ्चालन गर्न दिने भन्नेबारे पनि कुराकानी भएको थियो । तर स्वास्थ्य मन्त्रालयले त्यो जोखिमपूर्ण हुने बताएपछि आइतबारको बैठकमा यातायातसम्बन्धी विषयले प्रवेश पाएन ।