३० भाद्र २०८१, आइतबार | Mon Sep 16 2024

नवनियुक्त प्रधानमन्त्री देउवा र चार मन्त्रीद्वारा शपथ



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सर्वोच्च अदालतको सोमबारको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिईन् । नियुक्ति पत्रमा संविधानको धारा उल्लेख नभएके भन्दै देउवाले सच्याउन माग गरेपछि निर्धारित समयभन्दा दुई घण्टा ढिला भएको थियो ।

समारोहमा संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी र सञ्चारकर्मीको उपस्थिति थियो ।

सर्वोच्च अदालतको फैसलापछि नेपालको संविधानको धारा ७६(५) अनुसार कांग्रेस संसदीय दलका नेता देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गरेका छन् । नेपालको संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट दुईदुई मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीमा बालकृष्ण खाँड गृह, ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला, जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ छन् । नवनियुक्त मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराईन् ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ९ : ३९ बजे