८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बाढीपहिरोबाट नेपालमा ३१ को मृत्यु, ४३ बेपत्ता



काठमाडौँ । केही दिनदेखिको अविरल बर्षापछि आएको बाढीपहिरो र डुवानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ ।

गृहमन्त्रालयबाट बुधबार बिहानसम्मको प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन् । विपद्मा परेर २२ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिए । सम्पर्कविहीन व्यक्तिको सङ्ख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको छ ।

अहिलेसम्मको प्राप्त विवरणअनुसार इलाममा सात, पाँचथरमा छ, डोटीमा सात, धनकुटामा छ, सुनसुरीमा दुई, कालीकोटमा एक, डडेलधुरामा एकसहित ३१ जनाको मृत्यु भएको हो । उनले पहिरोमा परेर हुम्लामा छ, बझाङमा २३, कैलालीमा चारसहित विभिन्न जिल्लाका ४३ जना बेपत्ता भएका बताए । अहिलेसम्म विभिन्न जिल्लाबाट ७०० को उद्धार गरिएको छ ।

प्राप्त विवरणमा बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ । रातिदेखि नै वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेसँगै कर्णाली र सुदूरपश्चिममा केही सुधार भएको छ । नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै छ ।

जसका कारण अहिले देशको प्रदेश १, २ र बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भू–भागमामा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । बुधबार दिउँसो प्रदेश १ का थोरै र प्रदेश २, बागमती, गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १२ : ३४ बजे