१७ कार्तिक २०८१, शनिबार | Sun Nov 3 2024

विविध सांस्कृतिक कार्यक्रमका साथ न्यूयोर्कमा ल्होछार मनाईदै



न्युयोर्क । गुरुङ (तमु) सोसाइटी अमेरिकाले गुरुङ (तमु)हरुको महान पर्व तथा नयाँ वर्ष तमु ल्होछार २०७८ विभिन्न साँस्कृतिक कार्यक्रमका साथ न्यूयोर्कमा मनाउँदै छ ।

तमु सोसाइटी अमेरिकाले बार्षिक रुपमा मनाउँदै आएको ल्होछार साँझ यस बर्ष डिसेम्बर २५ तारिख गुलसन टेरेस उडसाइडमा मनाउन लागेको हो । ल्होको अर्थ वर्ग र छारको अर्थ नयाँ हुने भएकोले ल्होछारलाई गुरुङहरुले नयाँ बर्षको रुपमा मनाउने चलन छ । वर्गको आधारमा उमेर गणना गर्ने तमु जातिले, यस बर्ष गाई वर्गको विदाइ र बाघ बर्ग अर्थात तो ल्होको स्वागत गर्दै ल्होछार मनाउँन लागेको तमु सोसाइटीले जनाएको छ । आफ्नो रीतिरिवाज, धर्म, संस्कारलाई जीवित राख्न र पुस्तान्तरणको लागि सन् १९९९ मा स्थापित गुरुङ (तमु) सोसाइटीले सन् २००१ मा न्यूयोर्क सिटीमा विधिवत रुपमा दर्ता भई हरेक बर्ष पौष १५ को दिन ल्होछारलाई विशेष पर्वको रूपमा मनाउँदै आईरहेको छ ।

“सोसाइटीले सम्पूर्ण गुरुङहरु एकजुट हौं, संस्कार र संस्कृतिको जगेर्ना गरौं” भन्ने मूल नाराका साथ न्यूयोर्कमा ल्होछार पर्व मनाउँदै आएको छ । गुरुङ जातिले विभिन्न १२ ओटा जीवजन्तुहरुको चक्रलाई आधार मानेर प्रत्येक बर्ष नयाँ बर्षको रुपमा ल्होछार मनाउने गरेको गुरुङ तमु समाजका अध्यक्ष तोरण गुरुङले जानकारी दिए ।

ल्होछार पर्वले गुरुङहरुको संस्कृतिलाई जगेर्ना गर्न, प्रवर्द्धन गर्न तथा गुरुङ संस्कृतिलाई अन्तराष्ट्र्रियस्तरमा चिनाउन पनि बर्षेनी तमु ल्होछार मनाउँदै आएको सोसाइटीले जनाएको छ । कार्यक्रममा गुरुङ (तमु) हरूको संस्कृति झल्किने सोरठी, कौडा,स्थानीय कलाकारहरूको गीत, नृत्य तथा विविध साँस्कृतिक प्रस्तुति रहने सोसाइटीले जनाएको छ ।

यो पर्वले गुरुङहरुबीच एकता, भाइचारा र आपसी सद्भाव कायम राख्न मद्दत पुग्ने आयोजकको दावी छ ।  नेपाल तथा विदेशमा बसोबास गर्ने गुरुङ जातिले हरेक बर्ष पुस १५ मा  विविध सास्कृतिक कार्यक्रमसाथ ल्होछार पर्व मनाउँदै आएका छन् ।  कोभिढ १९ पछि प्रत्यक्ष रुपमा मनाउन लागेका ल्होछारमा सहभागी हुन भ्याक्सिन लगाएको कार्ड अनिवार्य रुपमा साथमा लिएर आउन सन्पूर्ण गुरुङ तथा गैरगुरुङ सहभागीहरुलाई  सोसाइटीले अनुरोध गरेको छ । ल्होछार पर्वलाई भव्य, सभ्य, सफल र हर्सोल्लासका साथ मनाउनका लागि सम्पूर्ण गुरुङहरुलाई  उपस्थित भई सहयोग गरिदिन गुरुङ समाजले अनुरोध गरेको छ । ल्होछारमा ६५ बर्ष भन्दा माथिका वृद्धबृद्धा तथा १० बर्ष भन्दा कम उमेरका बालबालिकाको लागि निशुल्क प्रवेशको व्यवस्था गरेको जनाएको छ ।

कार्यक्रम यही डिसेम्बर २५ शनिबारका दिन साँझ ७ बजेदेखि बिहान २ बजेसम्म विविध साँस्कृतिक कार्यक्रम तथा डिजे समेतको प्रस्तुति रहने सोसाइटीले जनाएको छ । नेपालमा हरेक बर्ष  पुष १३, १४, र १५ गते विभिन्न कार्यक्रम आयोजना गरी यो पर्व मनाउँदै आएको छ, यस बर्ष “विश्वका तमुहरु एक हौं” भन्ने नारा सहित ल्होछार मनाउँदै छन् ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  १ : २३ बजे