१२ मंसिर २०८०, मंगलबार | Wed Nov 29 2023

कांग्रेस नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको निधन, सबै पक्षबाट श्रद्धाञ्जली



नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको क्यान्सर रोगबाट निधन भएको छ । उनलाई विभिन्न राजनीतिक दल, नेता तथा सर्वसाधारणले श्रद्धञ्जली ब्यक्त गरेका छन् ।

विगत लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उहाँलाई साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

पिता मित्रलाल गिरी र आमा पुण्यप्रभा गिरीका सुपुत्र प्रदिप गिरीको जन्म विसं २००४ मा सिरहाको बस्तीपुरमा भएको हो । समाजवादी चिन्तक नेता गिरी नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक थिए । नेता गिरी २०२१ सालको राजनीतिक परिवर्तनपछि राजनीतिमा सक्रिय भएका हुन् । हाल प्रतिनिधिसभा सदस्य रहेका उनी २०२४ सालमा बनारसमा नेपाल छात्र सङ्घमा निर्वाचित भएका थिए ।

विसं २०५१ को संसदीय निर्वाचनमा सिरहा ५ बाट निर्वाचित हुनुका साथै संविधान सभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भइ संविधान निर्माणको जिम्मेवारीमा संलग्न भएका गिरी दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भएका थिए । नेता गिरी प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा सिरहा १ बाट निर्वाचित भएका थसए ।

नेपाली कांग्रेसका नेता प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनप्रति कांग्रेस संसदीय दलले गहिरो दुःख व्यक्त गरेको छ । नेपाली कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले एक शोक विज्ञप्ति प्रकाशित गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनाका साथै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

सचेतक विश्वकर्माले स्वर्गीय गिरीको अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार बिहान ९:०० बजेदेखि ११:०० बजेसम्म नेपाल मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा पार्थिव शरीर राखिने र
बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, सानेपा ललितपुरमा पार्थिव शरीरलाई श्रद्धाञ्जलीका राखिने र त्यसपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिने छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । प्रधानमन्त्री देउवाले एक ट्विट गर्दै भनेका छन्, “नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु ।”

उनले नेता गिरीको निधनले नेपालको एक सच्चा र असल नेता गुमाएको बताएका छन् ।

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको लहान नगरपालिकाले शोक बिदा दिएको छ । लहान नगर प्रमुख महेश चौधरीले नेता गिरीका निधनमा नगरपालिकाले आज शोक बिदा दिएको बताए ।

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनबाट आफू मर्माहत भएको बताएका छन् । अध्यक्ष ओलीले आज बिहान ट्वीट गर्दै “चिन्तनशील राजनीतिकर्मी मित्र प्रदीप गिरीको निधनबाट मर्माहत भएको छु” भनेका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनबाट नयाँ समाजवादी धारको विकासमा ठूलो क्षति पुगेको बताएका छन् ।

पैतालीस वर्ष निरन्तर गिरीसँगको गहन बौद्धिक विमर्शले आफूलाई ठूलो ऊर्जा प्रदान गर्ने गरेको स्मरण गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले गिरीको निधनमा निःशब्द रहेको जनाएका छन् । “नयाँ समाजवादी धारको विकासमा लागेका हामी सबैलाई उहाँको निधनले ठूलो क्षति पुगेको छ”, अध्यक्ष भट्टराईले ट्वीटमा भनेका छन् ।

 

 

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  १० : ४० बजे