३० असार २०८१, शनिबार | Sat Jul 13 2024

मधेसका सबै जिल्लामा गिरिको स्मृति सभा



नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको १३औँ दिनको तिथिमा आज मधेस प्रदेशका सबै जिल्लामा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरिएको छ ।

स्व गिरिको स्मृतिमा आज दिउँसो उहाँको गृहनगर लहान गरपालिका–१४ वस्तीपुरमा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गर्न लागिएको नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले जानकारी दिए । उनका अनुसार सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित स्व गिरिले शान्त रुपमा बस्न र थकाई मेटाउन गाउँ नजिकै खुट्टी खोला किनारमा बनाउनुभएको आश्रममा बिहीबार दिउँसो १ बजे श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा पार्टीका सबै तहका नेता, कार्यकर्ता, स्थानीय बुद्धिजीवी, समाजसेवीलगायतको सहभागिता रहने सभापति यादवले बताए ।

स्व गिरिको इच्छाअनुसार वस्तीपुरमा दाहसंस्कार गर्न नसकिए पनि आज १३औँ दिनको पुण्यतिथिमा उनको अस्तु आश्रममा सेलाइने छ । समाजवादी चिन्तक स्व गिरिको १३औँ दिनको तिथिमा प्रदेशका आठवटै जिल्लामा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिने कांग्रेस मधेस प्रदेशका सभापति कृष्णकुमार यादवले जानकारी दिए । लामो समयदेखि क्यान्सर रोगबाट पीडित गिरिको यही भदौ ४ गते ललितपुरको मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा निधन भएको थियो ।

 

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  २ : ४३ बजे