अभिनेता पल शाहलाई अढाई वर्ष जेल सजाय सुनाइएको छ । जिल्ला अदालत नवलपुर र तनहुँले अदालतमा बकपत्र गराउँदा पीडित र पीडितका बुबा जाहेरवालाले पल निर्दोष रहेको र आफ्नै जाहेरी झुटो रहेको बयान दिए पनि उनलाई नवलपुर अदालतले सजाय सुनाएको हो ।
सुरुमा पलमाथि बलात्कार आरोप लगाएका उनीहरुले दुवै अदालतमा पछि बयान बदलेर पल निर्दोष रहेको भनेका थिए । उनलाई अढाई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र १० लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति तिर्न पनि आदेश दिएको छ ।
जबर्जस्ती करणी मुद्दामा पल शाहलाई सफाइ, बाल यौन दुरुपयोगमा उनलाई उक्त सजाय दिइएको हो ।
फागुन १५ गते जिल्ला प्रहरी कार्यालय नवलपुरमा दर्ता भएको जाहेरीमा २०७७ चैत ७ गते गैँडाकोटको एक रिसोर्टमा शाहले बलात्कार गरेको पीडितको आरोप थियो । तर बयानका क्रममा भने बाबुमार्फत दर्ता गरेको जाहेरी नै झुटो भएको पीडितले भनेकी थिइन्।
‘म रिसोर्ट सञ्चालककी छोरीसँग सुतेकी थिएँ । पलले मलाई करणी गरेका होइनन् । उनी त मेरा अविभावक हुन्’, बकपत्रका क्रममा उनले भनेकी थिइन्, ‘त्यो रात मेरो कोठामा पल आएका होइनन् । करणी पनि गरेका छैनन् । हाम्रो बीचमा राम्रो सम्बन्ध छ ।’