बालिका करणीको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
मुलुकी अपराध संहिता २०७४ अन्तर्गत परिच्छेद–१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसुरमा लामिछानेउपर थप अनुसन्धान गर्नका लागि अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी जनाएको छ । लामिछाने लिग क्रिकेट खेलका सिलसिलामा हाल मुलुक बाहिर छन् ।
अपराध संहिताको दफा २१९, (२) मा कसैले कुनै महिलालाई महिलाको मञ्जुरी नलिइ करणी गरेमा वा मञ्जुरी लिए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ ।
सोही दफाको ३ (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० वर्षदेखि १२ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ । उनीमाथि १७ वर्षीया नाबालिका अभिभावकले यही भदौ ६ गते जबर्जस्ती करणी गरेको आरोपसहित भदौ २१ गते मङ्गलबार प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए ।
जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने लामिछानेले बालिकालाई यही ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ । जाहेरीपछि प्रहरीले ती होटलको सिसीटिभी फुटेज हेर्नेसहित विभिन्न अनुसन्धान गरिरहेको छ ।
पक्राउ पुर्जी जारी गरिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरेको छ । बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई क्रिकेट टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो ।
उनी हाल क्यारेवियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् । अब प्रहरीले उनलाई जुनसुकै बेला पक्राउ गर्न सक्नेछ।
यसैबीच बलात्कारको आरोप लागेका सन्दीप लामिछानेले आफूमाथि लागेका सबै आरोपको सामना गर्न तयार रहेको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले आफूमाथि लागेका सबै आरोप आधारहीन रहेको बताउँदै आरोपको सामना गर्न तयार रहेको बताएका हुन् ।
उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) बाट बिदा लिएर केही दिनमा नेपाल फर्किनेसमेत बताएका छन् । ‘म निर्दोष छु र नेपालको सम्मानित कानुनप्रति पूर्ण विश्वास राख्दछु‚’ लामिछानेले लेखेका छन्‚ ‘मैले सीपीएलबाट बिदा भएर केही दिनमा नेपाल फर्किने निर्णय गरेको छु । सबै आरोपहरूको सामना गर्न म तयार छु ।’
आफू निर्दोष भएको दाबी गर्दै लामिछानेले निर्दोषलाई न्याय मिल्ने विश्वास व्यक्त गरेका छन् । आफूमाथि लागेका सम्पूर्ण आधारहीन आरोपको सामना गर्ने बताउँदै उनले भनेका छन्‚ ‘निर्दोषलाई न्याय मिलोस् । संलग्न सबैमाथि उचित अनुसन्धान होस् । आशा गर्छु कि कानुनले सबैलाई समान व्यवहार गर्छ ।’