६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

चिनियाँ नेता ली झान्शु काठमाडौँमा



सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शु नेपालको औपचारिक भ्रमणमा आज काठमाडौँ आइपुगेका छन् ।

उनी विशेष विमानबाट सोमबार अपराह्न काठमाडौँ आएका हुन् । अध्यक्ष लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले स्वागत गरे । विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरु उपस्थित थिए ।

सभामुख सापकोटा र अध्यक्ष लीले सोमबार नै सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरेका छन् । आजै सभामुख सापकोटाले होटल सोल्टीमा अध्यक्ष ली र उनको प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रि भोजको आयोजना गर्दै छन् ।

अध्यक्ष लीले यही भदौ ३० गतेसम्म गर्ने चार दिने भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने छन् । यसैगरी उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने छन् । नेता लीले यस भ्रमणका क्रममा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि अध्यक्ष लीको भेटवार्ता हुनेछ । प्रतिनिधिमण्डलले नेपालको औपचारिक भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने पनि कार्यक्रम रहेको छ ।

अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ५ : ४३ बजे