८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

चार दिने भ्रमण सकेर फर्किए चिनियाँ नेता ली



सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार यहाँ आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज फिर्ता भएका छन् ।

चिनका उच्चस्तरका नेता अध्यक्ष ली बिहान विशेष विमानबाट फिर्ता भएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले विदाई गरेका थिए । सो अवसरमा विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी उपस्थित थिए । उनी सोमबार विशेष विमानबाट काठमाडौँ आइपेका थिए । चार दिने नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय विभिन्न भेटवार्ता गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग अध्यक्ष लीले बुधबार शिष्टाचार भेटवार्ता गरेका थिए । राष्ट्रपतिको कार्यालयमा भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको थियो ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका थिए । सोमबार सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छबुँदे सम्झौतापत्रमा हस्ताक्षरसमेत गरेका थिए ।

मङ्गलबार नै अध्यक्ष ली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता गरे । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गरे । परराष्टमन्त्री डा नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

भ्रमणका क्रममा चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाको अवलोकन र निरीक्षण तथा स्थानीय कला संस्कृतिको अवलोकन गरेको थियो । अध्यक्ष ली नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  १ : १६ बजे