नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीबमोजिमको दोस्रो आमनिर्वाचन आइतबार मङ्सिर ४ गते एकैचरणमा मुलुकभर हुँदैछ ।
मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् भने मतदानस्थल र मतदान केन्द्र निर्माण सकिएको छ । संविधानबमोजिम जनतामा निहीत सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यकपर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेकाले निर्धक्क भएर विवेकको मत प्रदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने भएकाले आफ्नो मतदान केन्द्रमा उपस्थित भई निर्धक्क भएर मतदान गर्न आग्रह गरे ।
आयोगले निर्वाचनको सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्पूर्ण व्यवस्थापकीय कार्यसम्पन्न गरिसकेको छ । त्यस्तै आवश्यक सुरक्षा व्यवस्था मिलाइ सकिएकाले मतदातालाई कसैको डर, धाकधम्की, प्रलोभनमा नपरी आफूलाई मन परेको राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन चिह्नमा मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरिएको छ ।
प्रमुख आयुक्त थपलियाले मतदानको दिनभन्दा अगाडि र मतदान सम्पन्न भएपछि अन्तिम नतिजा नआउँदासम्म निहीत राजनीतिक स्वार्थले निर्वाचनको निष्ठालाई आघात पुर्याउने गरी देशभित्र र बाहिरबाट सामाजिक सञ्जालमार्फत फैलिनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका कारण निर्वाचन व्यवस्थापन तथा सञ्चालन प्रभावित हुन सक्नेतर्फ आयोग सचेत रहेको बताए ।
आयोगले धाकधम्की, डर वा त्रास देखाइ वा अन्य कुनै किसिमले अनुचित प्रभावमा पारी कुनै निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा निर्वाचनको कुनै काम वा मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पुर्याउने काम गरेमा निर्वाचनको काममा खटिएका कर्मचारी, सुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षक वा जो कोहीले आफ्नो कर्तव्य सम्झी सूचना दिन, त्यस्तो कार्य रोक्न वा कानुनबमोजिम कारवाही गर्न विशेष निर्देशन दिएको छ ।