२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

डा. सन्दुक रुइतलाई दश लाख डलरको पुरस्कार



वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले दश लाख डलर (१३ करोड ८ लाख रुपैयाँ) धनराशी रहेको प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् । बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाका नाममा स्थापित अवार्डबाट यस वर्ष डा. रुइतलाई पुरस्कृत गर्ने घोषणा गरिएको हो ।

बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सन् २०१३ देखि हरेक दुई वर्षमा मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति/संस्थालाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ । बहराइनमा मंगलबार आयोजित पुरस्कार घोषणा समारोहमा राजपरिवारका सदस्य शेख मो. बिन मुबारक अल खालिफाले अन्धोपन निवारणका लागि गरेको मानव कल्याणका लागि डा. रुइतलाई इसा अवार्डका लागि छनोट गरिएको जानकारी दिएका थिए ।

डा. रुइतले मोतियाबिन्दुको उपचार गर्ने सरल विधि विकास गरेका छन् । उनले इन्ट्राअकुलर लेन्स विकास गरी सुलभ दरमा उपलब्ध गराउँदै आएका छन् । त्यसबाट नेपाललगायत विकासोन्मुख देशका अन्धोपन भएका लाखौं व्यक्तिले ज्योति प्राप्त गरेका छन् । इसा अवार्ड पाउने डा. रुइत पाँचौं हुन् ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  १२ : ५३ बजे