२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

मिटरब्याजको आरोपमा जनमत पार्टीको नेता पक्राउ



मिटरब्याज असुलेको आरोपमा सप्तरीको राजविराज नगरपालिका-७ बस्ने सुरेन्द्रप्रसाद शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कल्याणपुरले सोमबार बिहान राजविराजबाट मिटरब्याजी आरोपी शर्मालाई पक्राउ गरेको हो । उनी सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्य हुन् ।

जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो । सप्तरी प्रहरी स्रोतका अनुसार २०६६ सालमा उनका बुवा र स्थानीय निर्मलकुमार यादवका बुवाबीच २५ लाखको कारोबार भएको थियो ।

निर्मलकुमार यादवका बुवाले शम्भुनाथ नगरपालिकामा रहेको ८ बिगाह ७ कठ्ठा ७ धुर जग्गा धितो राखेर २५ लाख ऋण लिएका थिए ।

अहिले पैसा चुक्ता गर्दा २५ लाख नगदको बदलामा १३ करोड माग गरेपछि पीडित प्रहरी कहाँ पुगेका थिए । यसअघि पीडितले जिल्ला प्रहरी कार्यालयमा पनि उजुरी दिएका थिए ।

‘पीडितले पटक-पटक रकम तिरेको भन्छन्, अर्कोले तिरेको छैन भन्छन् । अहिले कल्याणपुरमा छलफल भइरहेको छ,’ प्रहरी स्रोतले भन्यो ।

सरकारले मिटरब्याजको समस्या समाधान गर्न पीडितहरूसँग शनिबार मात्रै पाँच बुँदे सहमति गरेको छ । महोत्तरीको बर्दिबासबाट ११ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका पीडितहरूसँग गृह मन्त्रालयका सहसचिव नेतृत्वको वार्ता टोलीले पाँच बुँदे सहमति गरेको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ५ : २९ बजे